तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधिका लागि आज आयोजक रेसिङ्ग साहारा र राइजिङ स्टार भिड्दै

  • नमस्ते कर्णाली

  • २४, फाल्गुन २०८१

    बाँके ।तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ। उपाधिका लागि कोहलपुर रेसिङ साहारा क्लब, कोहलपुर र राइजिङ स्टार फुटबल क्लब, नवलपरासी भिड्न लागेका हुन्। कोहलपुरको तेह्रबिघा खेल मैदानमा दिउँसो ३ बजे हुने खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।

    कोहलपुर रेसिङ साहारा क्लबले क्वार्टरफाइनलमा लुम्बिनी फुटबल एकेडेमी, घोराही दाङलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। सेमिफाइनलमा प्लानिङ व्वाईज युनाइटेड क्लब, काठमाडौँलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो। त्यस्तै, राइजिङ स्टार फुटबल क्लबले क्वार्टरफाइनलमा भारतको साहारा फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो। सेमिफाइनलमा काँक्रेविहार फुटबल क्लब, सुर्खेतलाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनल यात्रा तय गरेको हो।

    प्रतियोगिताको विजेता टोलीले ८ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ४ लाख रुपैयाँ पाउनेछ। म्यान अफ दि टुर्नामेन्टलाई ५१ हजार रुपैयाँ प्रदान गरिनेछ भने उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट राइजिङ स्टार, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट फरवार्डलाई जनही १० हजार रुपैयाँ पुरस्कार दिइनेछ। फाइनल खेलमा दुबै टोली उत्कृष्ट रणनीति अपनाउँदै उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रने छन्, जसले खेललाई झन् रोमाञ्चक बनाउनेछ।

  • २४ फाल्गुन २०८१, शनिबार ११:१४ प्रकाशित

  • Nabintech