नारी दिवसको अवसरमा “मूल्यनिष्ठ समाज निर्माणका लागि नारीको योगदान” विषयक कार्यक्रम सम्पन्न

  • नमस्ते कर्णाली

  • २५, फाल्गुन २०८१

    बाँके ।”अब छिट्टै नारी नेतृत्वको राज्य आउँदैछ, त्यसका लागि आध्यात्मिक चिन्तन आवश्यक छ” भन्ने उद्घोष गर्दै लुम्बिनी प्रदेश सभा सदस्य माननीय अम्बिका काफ्लेले महिलाहरूलाई आत्मबल र सशक्तीकरणको मार्गमा अघि बढ्न आग्रह गर्नुभयो।

    अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल, क्षेत्रीय कार्यालय, नेपालगन्ज, बाँकेले “मूल्यनिष्ठ समाज निर्माणका लागि नारीको योगदान” विषयक उत्प्रेरणा एवं स्नेह मिलन कार्यक्रम आयोजना गरेको थियो।

    कार्यक्रममा ब्रह्माकुमारी गुलरिया शाखा प्रमुख ब्र.कु. गीताको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि माननीय अम्बिका काफ्ले हुनुहुन्थ्यो। साथै, केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदी, नेपालगन्ज उपमहानगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख पवित्रा पुरी, राष्ट्रिय मानव अधिकार आयोग, नेपालगन्जका प्रमुख द्वारिका अधिकारी, एम.पी. स्कुलकी प्राचार्य सन्ध्या गुप्ता, नेपाल घरेलु तथा साना उद्योग महासंघ नगर कमिटी अध्यक्ष दिला शाह, नील सागर सेवाश्रमकी अध्यक्ष डा. सरिता खनाल, नेपालगन्जकी पूर्व उपमेयर उमा थापा लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

    कार्यक्रममा राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीले आशिर्वचन दिँदै भन्नुभयो, “नारीहरू अदम्य साहसकी धनी, सहनशीलताकी देवी, ज्ञानकी प्रतीक सरस्वती र समृद्धिकी प्रतीक लक्ष्मी हुन्। अब छिट्टै नारी नेतृत्वको युग आउनेछ, त्यसका लागि आध्यात्मिक चेतना र आत्मिक चिन्तन आवश्यक छ।”

    कार्यक्रममा बाल कलाकार ब्र.कु. सङ्गीता, कुमारी खुशी, कुमारी प्रियंका पौडेलले नारी सशक्तीकरणसम्बन्धी नृत्य प्रस्तुति गरेका थिए। कार्यक्रमको सञ्चालन तथा सहजीकरण ब्रह्माकुमारी विश्वविद्यालय नेपालगन्ज क्षेत्रीय उपप्रमुख तथा मोटिभेशनल प्रशिक्षिका ब्र.कु. मुनाले गर्नुभएको थियो।


    अन्य वक्ताहरूले “नारी जीवनको ठूलो सम्पत्ति भनेकै खुशी हो। हरेक परिस्थितिलाई सकारात्मक सोचले सामना गर्दै आत्मबल र मानसिक शान्ति कायम राख्न योग साधना महत्वपूर्ण छ” भन्ने विचार व्यक्त गरे।

    विभिन्न पेशागत क्षेत्रमा सक्रिय महिलाहरूले संस्थाले आत्मबल अभिवृद्धि, मानसिक शान्ति, तथा आत्मिक उन्नतिको अनुभूति गराएकोमा धन्यवाद दिएका थिए।

    यस प्रेरणादायी कार्यक्रमले नारीहरूको नेतृत्व विकास, सशक्तीकरण तथा मूल्यनिष्ठ समाज निर्माणमा उनीहरूको भूमिकाबारे गहन छलफल गरेको थियो। वक्ताहरूले राजनीतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा महिलाहरूको प्रभावकारी योगदान आवश्यक रहेकोमा जोड दिए।

    कार्यक्रमले सहभागीहरूलाई नारी जागरण र सशक्तीकरणको दिशामा अगाडि बढ्न प्रेरित गरेको थियो।

  • २५ फाल्गुन २०८१, आईतवार ०७:२३ प्रकाशित

  • Nabintech