बैजनाथमा बालिका शिक्षा कार्यक्रमको सिकाइ आदान प्रदान तथा आगामी योजना बैठक सम्पन्न

  • नमस्ते कर्णाली

  • १२, चैत्र २०८१
    बाँके ।बाँके जिल्लाको बैजनाथ गाउँपालिका स्थित प्रभात नमुना माध्यमिक विद्यालयमा बालिका शिक्षा कार्यक्रमको सिकाइ आदान प्रदान तथा आगामी योजना बैठक सम्पन्न भएको छ। रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा सञ्चालित उक्त कार्यक्रममा हालसम्मका उपलब्धिहरू, राम्रा अभ्यासहरू, जलवायु कार्यमा भएका सिर्जनात्मक पहलहरू र आगामी योजनाहरूको विषयमा छलफल गरिएको थियो।

    बैठकको उद्देश्य बालिका शिक्षा कार्यक्रमबाट प्राप्त अनुभवहरू साझा गर्ने, जलवायु कार्यक्रम अन्तर्गत भएका सिर्जनात्मक कार्यहरूको निरन्तरताको प्रतिबद्धता जनाउने र सरोकारवालाहरूबीच कार्यक्रमको समिक्षा गरी आगामी दिनका योजनाहरू तर्जुमा गर्नु थियो।

    बास नेपालका सिनियर सामाजिक परिचालक मेघा रानाले जलवायु कार्यक्रम मार्फत संचालन भएका सत्रहरू र कार्यक्रमका मुख्य उपलब्धिहरूको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो। बैठकमा बोल्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष दल बहादुर सुनारले बालिका शिक्षा कार्यक्रम निकै उपलब्धिमूलक रहेको बताउँदै यसको निरन्तरताका लागि पहल गरिनुपर्नेमा जोड दिनुभयो।

    त्यसैगरी प्रधानाध्यापक बाबुराम अधिकारीले जलवायु परिवर्तन कार्यक्रमले विद्यालयमा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गर्दै विद्यालयस्तरबाट पनि कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो। वडा अध्यक्ष देव बहादुर रावत, शिक्षक अभिभावक संघका अध्यक्ष दिप बहादुर थापा र सम्पर्क शिक्षक धनमाया बिकले पनि कार्यक्रमको प्रभावकारिता र स्थानीय समुदायमा पारेको सकारात्मक प्रभावको प्रशंसा गर्नुभयो।

    बैठकमा जलवायु न्याय क्लबका बालिकाहरू चेतना बुढा, पुष्पा बिक, रितु बिक, सरस्वती थापा, पूर्णिमा सिंक ठकुरी, आरती परियारले क्लबमा संलग्न भई सिकेका अनुभवहरू र आफ्नो प्रतिबद्धता व्यक्त गरे।

    बालिका शिक्षा कार्यक्रमले स्थानीय बालिकाहरूको क्षमता अभिवृद्धि गर्दै जलवायु परिवर्तनबारे सचेतना फैलाउने महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ थियो। बैठकमा स्थानीय समुदायका प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, शिक्षक अभिभावक संघका पदाधिकारीहरू, विद्यार्थीहरू, तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

     

  • ११ चैत्र २०८१, मंगलवार ११:४१ प्रकाशित

  • Nabintech