विद्यालय शिक्षा विधेयक पारित गर्न सरकार संवेदनशील छ : मन्त्री गुरुङ

  • नमस्ते कर्णाली

  • बैशाख ११, २०८२

    काठमाडौँ । सरकारले काठमाडौँको तीनकुनेमा भएको घटनामा परी मृत्यु भएकाहरूको परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

    सञ्चार मन्त्रालयमा मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गत चैत १५ गते तीनकुने घटनामा परी मृत्यु भएका सविन महर्जन तथा सुरेश रजकको परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो ।
    यस्तै सञ्चार मन्त्री गुरुङले आन्दोलनरत शिक्षकहरूका माग पुरा गर्न सरकार गम्भीरतापूर्वक लागिरहेको उल्लेख गर्नुहुँदै विद्यार्थी भर्ना अभियान, परीक्षाफल प्रकाशन तथा परीक्षा गराउने जस्ता शैक्षिक कार्यक्रमहरू सञ्चालनका लागि जिम्मेवार भई विद्यालय फर्कन आग्रह गर्नुभयो ।
    सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार मन्त्री गुरुङले शिक्षकहरूका माग बमोजिम विद्यालय शिक्षा विधेयक पारित गर्न सरकार संवेदनशील रहेकाले  विना अवरोध शैक्षिक गतिविधि यथाशक्य सञ्चालन गरी सरकारलाई सहयोग गर्न समेत आग्रह गर्नुभयो ।
    यस्तै मन्त्रिपरिषद् बैठकले वैदेशिक सहायता परिचालन नीति २०८२ र सार्वजनिक खरिद चौधौँ संशोधन नियमावली २०८२ लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।
    यस्तै बैठकले नेपाली सेनाका तर्फबाट १३ जना र भारतीय १० जना सेना गरी २३ जना आरोहण दललाई कञ्चनजङ्घा हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर पूर्ण रुपमा छुट दिने र विभिन्न अन्तर्राष्ट्रिय  सम्मेलन तथा कार्यक्रमहरूमा सहभागी हुन सम्बन्धित मन्त्री स्तरीय प्रतिनिधि टोलीलाई स्वीकृति प्रदान गर्ने लगायतका निर्णय गरेको सञ्चार मन्त्री गुरुङले जानकारी दिनुभयो ।

  • ११ बैशाख २०८२, बिहीबार ०६:५८ प्रकाशित

  • Nabintech