१२, बैशाख २०८१
बाँके।बाँके जिल्ला प्रशासन कार्यालयमा सेवा प्रवाहलाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले विद्युतीय टोकन प्रणाली लागू गरिएको छ। सेवाग्राहीको भीड हुने शाखामा यस प्रणाली सुरु गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो।
उहाँका अनुसार छिटो आउने सेवाग्राहीले पहिला सेवा पाउने व्यवस्था मिलाउन र सेवा लिने प्रक्रियामा कुनै भेदभाव नहोस् भन्ने सोचले टोकन प्रणाली लागू गरिएको हो। हाल नागरिकता र प्रतिलिपि शाखा, राहदानी शाखा तथा राष्ट्रिय परिचयपत्र शाखामा यो प्रणाली कार्यान्वयन गरिएको छ।
टोकन प्रणालीका कारण सेवाग्राहीले निर्धक्क र सहज रूपमा सेवा प्राप्त गर्न सक्ने वातावरण बनाइएको छ। कार्यालयका अनुसार पहिलेभन्दा अझ प्रभावकारी सेवा दिने दिशामा यो प्रणाली महत्वपूर्ण हुनेछ।
साथै, पछिल्लो समय राष्ट्रिय परिचयपत्र बनाउने सेवामा अत्यधिक चाप देखिएकोले सेवा प्रवाहमा देखिएको असहजतालाई ध्यानमा राखी सम्पूर्ण सेवा एउटै भवनबाट सञ्चालन गरिएको छ। यसले सेवाग्राहीलाई थप सहुलियत पुग्ने विश्वास जिल्ला प्रशासन कार्यालय, बाँकेले व्यक्त गरेको छ।