मुस्लिम इत्तेहादको महाधिवेशन तयारीमा ढकालको सक्रियता, राष्ट्रिय गौरव योजनाको अनुगमन र जनगुनासो सम्बोधनमा प्रतिवद्धता

  • नमस्ते कर्णाली

  • १८, बैशाख २०८२

    बाँके ।यहि बैशाख २० गते नेपालगञ्जमा हुन गइरहेको मुस्लिम इत्तेहाद संगठनको सातौं राष्ट्रिय महाधिवेशनलाई भव्य र सफल बनाउने उद्देश्यका साथ संगठनले तयारी तीव्र बनाएको छ। सोही सन्दर्भमा महाधिवेशनको पूर्वसन्ध्यामा नेपालगञ्जमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको छ। स्थानीय अगुवा, स्वयंसेवक तथा संघसंस्थाहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त अभियानले सामाजिक उत्तरदायित्वको सन्देश दिएको छ।

    कार्यक्रममा संघीय सांसद सुर्य ढकालको विशेष उपस्थिति रहेको थियो। उनले मुस्लिम समुदायको ऐतिहासिक योगदान, सांस्कृतिक पहिचान र समावेशी राष्ट्रियताको प्रवर्द्धनमा महाधिवेशनको महत्व रहेको बताउँदै सबै नागरिकलाई सहभागिताको आह्वान गरे। “समावेशी समाज निर्माणका लागि सबै समुदायको पहिचान र सहभागिता आवश्यक छ,” उनले भने।

    यसैबीच, राष्ट्रिय गौरवको योजना अन्तर्गत कोहलपुर नगरपालिका वडा नम्बर ७ मा शाखानगर विस्तारका लागि आवश्यक जग्गा नापजाँचको काम अघि बढेको छ। नगर कार्यालय प्रमुख, वडा जनप्रतिनिधि तथा स्थानीय बासिन्दासँगको छलफलपछि योजना कार्यान्वयनको प्रक्रिया अघि बढाइएको हो। छलफलमा स्थानीयले आफ्ना गुनासो तथा सरोकारका विषयहरू राखेका थिए।

    सांसद ढकालले विकास योजनाहरू जनताको आवश्यकता र आवाजमा आधारित हुनुपर्नेमा जोड दिए। उनले भौतिक पूर्वाधार विस्तारसँगै नागरिकको सहभागिता र विश्वास प्राप्त नगरी कुनै योजना सफल नहुने धारणा राखे।

    त्यस्तै, पछिल्ला दिनहरूमा डुवानबाट प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन गरेका सांसद ढकालले पीडितहरूसँग प्रत्यक्ष संवाद गर्दै समस्याको स्थायी समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए। “कटान नियन्त्रण र क्षतिपूर्ति व्यवस्था राज्यको प्राथमिकता हुनुपर्छ, यसमा मेरो निरन्तर पहल रहनेछ,” उनले स्पष्ट पारे।

    सामाजिक, भौतिक र सांस्कृतिक विकासका हरेक पक्षलाई समेटेर अघि बढ्ने स्पष्ट नीति प्रस्तुत गर्दै सांसद ढकालले भने, “जनताको गुनासो सुन्ने, सम्बोधन गर्ने र अपेक्षाअनुसार काम गर्ने मेरो दायित्व हो। यसमा कुनै कसर बाँकी रहने छैन।”

  • १८ बैशाख २०८२, बिहीबार १०:३४ प्रकाशित

  • Nabintech