१८, बैशाख २०८२
बाँके ।राप्ती सोनारी गाउँपालिकाका विभिन्न चोकहरूमा सिसी क्यामेरा जडान गरिएको छ। समाजमा बढ्दो आपराधिक गतिविधिलाई निगरानी गर्न राप्ती सोनारी–३ स्थित भवनियापुर चोक र वडा नम्बर ५ को मुख्य चोकमा हालै सिसी क्यामेरा जडान गरिएको हो।
यसअघि राप्ती सोनारी–४, बैजापुरमा केही महिना अघि नै सिसी क्यामेरा जडान भइसकेको थियो। यस अभियान अन्तर्गत जडान गरिएका सबै क्यामेराहरूबाट प्राप्त रेकर्डहरू सम्बन्धित वडा कार्यालयमा सुरक्षित रूपमा राख्न मिल्ने प्रणाली बनाइएको छ।
ईलाका प्रहरी कार्यालय धामपुरका ईन्चार्ज, प्रहरी वरिष्ठ नायब निरीक्षक (सप्रनानी) बालबहादुर घर्तीमगरका अनुसार, सिसी क्यामेरा अपराध नियन्त्रण तथा अनुसन्धानमा निकै उपयोगी हुनेछन्। उनका अनुसार, “सबै स्थानमा प्रहरीको उपस्थिति सधैं सम्भव नहुने भएकाले, कुनै पनि घटना घटेपछि क्यामेराबाट प्राप्त फुटेजले अनुसन्धानमा सहजता ल्याउँछ। साथै, यसले स्थानीयहरूलाई पनि सुरक्षित महसुस गराउँछ।”
प्रहरी ईन्चार्ज घर्तीले थपे, “सिसी क्यामेराको निगरानी हुने थाहा पाएपछि आपराधिक प्रवृत्तिका व्यक्तिहरू आफैं टाढा रहने सम्भावना रहन्छ, जसका कारण अपराधको दर घट्नेछ।”
स्थानीय स्तरमा सुरक्षाको प्रत्याभूति दिने उद्देश्यले गरिएको यस पहलप्रति स्थानवासीहरू पनि सकारात्मक देखिएका छन्।