१९, बैशाख २०८२
जाजरकोट ।जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–३ मुल्साममा अज्ञात रोगकोले दुई सयभन्दा बढी भेडा मरेका छन् । भेडा एकपछि अर्को गर्दै मर्न थालेपछि किसान चिन्तित र निराश बनेका छन् ।
रोग पत्ता नलाग्दा उपचार सम्भव नभएको भन्दै स्थानीयले गुनासो गरेका छन् । वडाध्यक्ष रामबहादुर सिंहले उपचारमा स्थानीय पशु स्वास्थ्यकर्मीहरू खटिएका छन् ।
भेडालाई पखाला लाग्ने र धमाधम मर्ने गरेका छन् । उनले जनप्रतिनिधि र स्थानीय पशु स्वास्थ्यकर्मी उपचारमा खटिएका बताए । तर मर्ने क्रम भने रोकिएको छैन ।
अधिकांश किसानका भेडा मरेका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयकाले भेडाको स्वाब, रगत, आन्द्राको भाग सुर्खेत ल्याबमा पठाएको जनाएको छ ।
रिपोर्ट नआउन्जेल कसरी कुन रोगको उपचार गर्ने भन्ने समस्या भएको उपचारमा खटिएका पशु स्वास्थ्यकर्मीले बताएका छन् । उपचारमा खटिएका एक पशु स्वास्थ्यकर्मीले यहाँ पर्याप्त औषधि पनि नभएको र जिल्लाबाट खासै चासो दिएको नपाइएको बताए ।
खटिएका पशु स्वास्थ्यकर्मीबाट मात्रै उपचार सम्भव नभएको उनले बताए । पशु अस्पताल तथा पशु सेवा कार्यालयले केही दिन अघि डाक्टर सहितको टोली पठाएर स्वाब सङ्कलन गरे पनि त्यसपछि जनशक्ति खटाएको देखिँदैन् ।
भेडा मर्न थालेपछि किसानहरूमा निराशा छाएको छ । कृषिमा निर्भर स्थानीय किसानका लागि भेडा आम्दानीको मुख्य स्रोत हो । सयौँको सङ्ख्यामा भेडा मरेपछि उनीहरूको जीविकोपार्जनमा प्रत्यक्ष असर पर्ने किसानहरूले बताएका छन् ।