२०, बैशाख २०८२
बाँके ।कोहलपुर नगरपालिका आफ्नाे १२औं स्थापना दिवस वैशाख २५ गते भव्य समारोहका साथ मनाउने तयारीमा जुटेकाे छ। पाँच दिने यो उत्सव वैशाख २१ गतेदेखि सुरु हुने र वैशाख २५ गते मूल समारोहका साथ सम्पन्न हुने छ।
स्थानीय कला-संस्कृतिको उत्थान, निजी क्षेत्रसँगको साझेदारी तथा समाजका विभिन्न तहमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गर्ने उद्देश्यले विविध कार्यक्रमको आयोजना गरिएको स्थापना दिवस सचिवालय उपसमिति संयोजक विरेन्द्र कुमार शाहले जानकारी दिनुभयो।
स्थापना दिवसलाई भव्य र सभ्य बनाउन नगर प्रमुख पूर्णप्रसाद आचार्यको संयोजकत्वमा ५०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। साथै, विभिन्न उपसमितिहरू मार्फत तयारी तीव्र पारिएको छ। वडा अध्यक्षहरूको संयोजकत्वमा सचिवालय, अतिथि सत्कार, मञ्च व्यवस्थापन, खेलकुद तथा स्वास्थ्य सरसफाइसम्बन्धी उपसमितिहरू सक्रिय छन्।
पाँचदिने कार्यक्रम अन्तर्गत स्थानीय मौलिक संस्कृतिको झल्को दिने पञ्चेबाजा, थारु, टप्पा, ख्याली, गन्धर्व, मयुर नृत्य लगायतका सांस्कृतिक प्रस्तुति, सामूहिक नृत्य प्रतियोगिता, खुल्ला कविता प्रतियोगिता, विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता, र विभिन्न समुहबीच भलिवल प्रतियोगिताको आयोजना हुनेछ।
यसैगरी, उत्कृष्ट करदाताहरू, उत्कृष्ट खेलाडीहरू र नगर विकासमा विशेष योगदान दिने व्यक्तिहरूलाई सम्मान गरिनेछ। निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, विद्यालय स्तरीय दौड प्रतियोगिता पनि कार्यक्रममा समावेश छन्।
वैशाख २५ गते स्थापना दिवसकै दिन कोहलपुर नगरपालिका वडा नं. ११ न्यूरोडस्थित खुला मैदानमा आयोजित मुख्य समारोहमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना प्रमुख अतिथि रहनेछन्। समारोहमा नगर विकासमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिनेछ।
संयोजक शाहले सबै पक्षसँग सहकार्य, सहभागिता र साझेदारीमार्फत स्थापना दिवस २०८२ लाई भव्य र सफल बनाउन सबैलाई आह्वान गर्नुभएको छ।