नेपालगन्ज श्रम कार्यालयमा यस वर्ष ४६ उजुरी, १९६ प्रतिष्ठानको अनुगमन

  • नमस्ते कर्णाली

  • २०, बैशाख २०८२
    बाँके ।श्रम तथा रोजगार कार्यालय नेपालगन्जमा चालु आर्थिक वर्ष २०८१/०८२ मा ४६ जना श्रमिकका श्रम सम्बन्धी उजुरी दर्ता भएका छन्। तीमध्ये २१ उजुरी फर्स्यौट भएको कार्यालयले जनाएको छ।

    श्रम तथा रोजगार कार्यालय नेपालगन्जका प्रमुख पिन्टु कुमार रजकका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ५० वटा उजुरी दर्ता भएका थिए। तीमध्ये ४० वटा उजुरी सोही वर्षमा समाधान गरिएका थिए भने बाँकी १० उजुरी चालु आर्थिक वर्षमा सारिएका थिए।

    चालु आर्थिक वर्षमा कार्यालयले १९६ वटा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानमा अनुगमन गरेको छ। अनुगमनको क्रममा ती सबै प्रतिष्ठानमा बालश्रम सम्बन्धी अवस्थाको पनि अवलोकन गरिएको थियो।

    यसअघि आर्थिक वर्ष २०८०/०८१ मा कार्यालयले ३७९ वटा प्रतिष्ठानमा अनुगमन गरेको थियो। सो अवसरमा पनि बालश्रम नियन्त्रण तथा कार्यान्वयन अवस्थाको विशेष निगरानी गरिएको थियो।

    श्रम ऐनको कार्यान्वयन, श्रमिक अधिकार संरक्षण र बालश्रम निवारणतर्फ कार्यालयले गरिरहेको नियमित अनुगमन तथा उजुरी समाधान प्रक्रियाले श्रमिक हित प्रवर्द्धनमा योगदान पुर्‍याएको बताइएको छ।

    यस्ता अनुगमन र उजुरी व्यवस्थापन कार्यले औद्योगिक शान्ति, कार्यस्थलको मर्यादा र श्रमिक-नियोजकबीचको सहकार्यमा सुधार आउने अपेक्षा गरिएको छ।

     

  • २० बैशाख २०८२, शनिबार १०:४९ प्रकाशित

  • Nabintech