नेपालगन्जमा एमाले निकट मुस्लिम संगठनको ऐतिहासिक महाधिवेशन सुरु, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

  • नमस्ते कर्णाली

  • २०, बैशाख २०८२
    बाँके ।नेकपा (एमाले) निकट नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौँ केन्द्रीय महाधिवेशन आज नेपालगन्जमा भव्य रुपमा सुरु हुँदैछ। महाधिवेशनको औपचारिक उद्घाटन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय गरिएको छ।

    एमाले केन्द्रीय सदस्य एवं मुस्लिम विभाग इन्चार्ज मोहम्मद हारुन हलवाईले महाधिवेशनलाई ऐतिहासिक बनाउन आवश्यक सबै तयारी पूरा भएको जानकारी दिनुभयो। उहाँका अनुसार देशभरबाट ६ सयभन्दा बढी मुस्लिम प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहनेछ।

    महाधिवेशनबाट मुस्लिम समुदायसहित मधेशी, थारू, दलित, अल्पसंख्यक र सिमान्तकृत समुदायको समावेशी विकास र अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित ‘नेपालगन्ज घोषणा पत्र’ जारी गरिनेछ।

    एमाले केन्द्रीय सदस्य पशुपति दयाल मिश्रले गणतन्त्रलाई कमजोर पार्ने विभिन्न प्रयास भइरहेका बेला महाधिवेशनले त्यसविरुद्ध एकजुट भई गणतन्त्र सुदृढ पार्न योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

    महाधिवेशन सफल बनाउन एमाले नेतृ दीपा शर्मा, सांसद सूर्य ढकाल, लेखा समिति सदस्य विजया धिताल, एमाले बाँके अध्यक्ष निरक गुरुङ, महाधिवेशन मूल समारोह संयोजक हलिम शाहलगायतका नेताहरू सक्रिय रहेको आयोजक समितिले जनाएको छ।

    महाधिवेशनले मुस्लिम समुदायको राजनीतिक सशक्तिकरणसँगै सामाजिक समावेशिता र समानताका मुद्दालाई नयाँ उचाइमा लैजाने अपेक्षा गरिएको छ।

  • २० बैशाख २०८२, शनिबार १०:५५ प्रकाशित

  • Nabintech