बाँकेका एसपी रामप्रसाद घर्ती मगरको प्रतिबद्धता : “दवाव र प्रभावविहीन रूपमा अपराध नियन्त्रणमा शून्य सहनशीलता”

  • नमस्ते कर्णाली

  • २०, बैशाख २०८२
    बाँके ।बाँके जिल्लाका नव नियुक्त प्रहरी प्रमुख एसपी रामप्रसाद घर्ती मगरले अपराध नियन्त्रणका लागि कसैको दवाव वा प्रभावमा नपरी निष्पक्ष र स्वतन्त्र ढंगले कार्य गर्ने प्रतिबद्धता जनाएका छन्। जिल्ला प्रहरी कार्यालयको जिम्मेवारी सम्हाल्दै उनले शून्य सहनशीलताको नीति अनुरूप अपराध नियन्त्रणमा कुनै कसर बाँकी नराख्ने स्पष्ट संकेत दिएका हुन्।

    ‘अपराध नियन्त्रणमा कसैको दबाब र प्रभावमा नरही, जनताले प्रत्यक्ष अनुभूति गर्ने गरि काम गर्छु,’ एसपी घर्ती मगरले बताए। उनले प्रहरी र नागरिकबीचको सम्बन्ध अझ बलियो बनाउने उद्देश्यले ‘जनतासँग प्रहरी’ कार्यक्रम सञ्चालनमा ल्याइने जानकारी समेत दिए।

    उनका अनुसार, जनताको समस्या बुझ्न र समाधान गर्न समुदायसँग प्रत्यक्ष संवाद हुने गरी कार्यक्रम सार्वजनिक गरेर छिट्टै कार्यान्वयनमा ल्याइने छ। यसले प्रहरीप्रति जनविश्वास बढाउने र अपराध न्यूनीकरणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

    राज्यले दिएको जिम्मेवारीप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै एसपी घर्ती मगरले प्रहरी कर्मचारीलाई राष्ट्र र जनताप्रति सकारात्मक योगदान दिन थप सिर्जनशील र उत्तरदायी बन्न निर्देशन दिएका छन्। उनले सङ्गठनको नीति, योजना र लक्ष्यलाई कार्यान्वयनमा ल्याउनेतर्फ गम्भीर भएर लाग्न निर्देशन दिए।

    बाँकेको शान्ति सुरक्षालाई मजबुत बनाउने अठोटसहित प्रहरी प्रमुखको नेतृत्वले जनस्तरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

     

  • २० बैशाख २०८२, शनिबार ११:२४ प्रकाशित

  • Nabintech