२१, बैशाख २०८२
बाँके। नेकपा (एकीकृत समाजवादी) बाँकेको ८औं जिल्ला अधिवेशन नेपालगञ्जस्थित सीएसटी होटेलको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन जिल्ला अध्यक्ष ईन्द्र बहादुर थापाको अध्यक्षता र पार्टी महासचिव घनश्याम भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
अधिवेशनले दिपक जि.एम.लाई सर्वसम्मत रूपमा नयाँ जिल्ला अध्यक्षमा चयन गरेको छ भने सचिवमा तेज प्रसाद अधिकारी निर्वाचित हुनुभएको छ। त्यसैगरी उपाध्यक्षमा शिव प्रसाद डाँगी र करिश्मा योगी, उप–सचिवमा टेकेन्द्र मल्ल, प्रेमिका शाही र मकबुल खान चयन भएका छन्। कुल ५३ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरिएको प्रचार विभाग सचिव कुशल दलामीले जानकारी दिनुभयो।
नवनियुक्त अध्यक्ष दिपक जि.एम.ले पदभार ग्रहण गर्दै संगठनलाई गाउँदेखि सहरसम्म मजबुत बनाउने, जनताको समस्या बुझेर समाधानतर्फ अघि बढ्ने र पार्टीलाई सिद्धान्तमा आधारित अनुशासित, गतिशील र प्रभावशाली बनाउने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पार्टी केन्द्रीय उप महासचिव मेटमनी चौधरी, लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डे, पोलिटब्युरो सदस्य एवं बाँके इञ्चार्ज अब्दुल हुँसेन खान, केन्द्रीय सदस्य एवं सह–इञ्चार्ज नारायणी ओलीलगायत नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
हजारौं प्रतिनिधि, नेता–कार्यकर्ता र समर्थकहरूको सहभागिता रहेको अधिवेशनमा महासचिव घनश्याम भुसालले नवनिर्वाचित समिति सदस्यहरूलाई पद तथा गोपनियताको सपथ गराउनुका साथै प्रमाणपत्र वितरण गर्नुभएको थियो।
अन्त्यमा २६ बुँदे बाँके घोषणापत्र जारी गर्दै अधिवेशन सम्पन्न गरिएको थियो। प्रचार विभाग सचिव कुशल दलामीका अनुसार, अधिवेशनले पार्टीलाई एकताबद्ध गर्दै आगामी राजनीतिक रणनीति तय गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।