२२, बैशाख २०८२
बाँके । मुस्लिम समुदायका महिलाहरूलाई लक्षित गरी नेपालगन्जमा तीन दिने प्रजनन स्वास्थ्यसम्बन्धी तालिम सुरु गरिएको छ। लुम्बिनी प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय बाँकेले तालिम आयोजना गरेको हो। नेपालगन्ज उपमहानगरपालिका–१ को समन्वयमा उक्त तालिम संचालन गरिएको जनाइएको छ।
तालिमको उद्घाटन गर्दै जिल्ला स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठले यस्तो तालिमले महिलाहरूमा प्रजनन स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो। “जीवन उपयोगी स्वास्थ्य जानकारी पाउने अवसर भएकाले सहभागी महिलाहरूले यसलाई व्यवहारमा उतार्न आवश्यक छ,” उहाँले भन्नुभयो।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष प्रमोद रिजालले प्रजनन स्वास्थ्य सबैका लागि अनिवार्य ज्ञानको विषय भएको उल्लेख गर्नुभयो। “यो विषय लामो समयसम्म चुपचाप राख्ने र छलफल नगरिने प्रवृत्तिमा रहँदै आएको छ,” उहाँले बताउनुभयो, “तर महिलाहरूको अधिकार सुनिश्चित गर्न यसबारे जनचेतना आवश्यक छ।”
लुम्बिनी प्रदेशकी सांसद मिना श्रेष्ठको संयोजनमा आयोजित तालिममा १९ देखि ४० वर्ष उमेर समूहका ३० जना मुस्लिम महिलाहरूको सहभागिता रहेको जनाइएको छ। सांसद श्रेष्ठले स्वास्थ्यसम्बन्धी तालिमपछि पनि सहयोग जारी रहने जानकारी दिनुभयो। “प्रजनन स्वास्थ्यसम्बन्धी शिक्षा दिइसकेपछि महिलाहरूको आर्थिक सशक्तीकरणका लागि सीपमूलक तालिम पनि आयोजना गरिनेछ,” उहाँले बताउनुभयो।
स्वास्थ्य कार्यालय बाँकेका मलेरिया निरीक्षक दुर्गा गौतम, पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठ, र नेपालगन्ज उपमहानगरपालिकाकी वरिष्ठ अनमी निर्मला खनालले तालिममा सहजीकरण गरिरहनुभएको छ।
सहभागी महिलाहरूले यस्ता तालिमहरू निरन्तर सञ्चालन हुनुपर्ने आवश्यकता औँल्याएका छन्। उनीहरूले महिलाको स्वास्थ्य, सम्मान र स्वावलम्बनका लागि यस्ता कार्यक्रमहरू प्रभावकारी हुने जनाएका छन्।