गिट्टीसँगै चोइटिँदै जीवन : श्रीमान् जेल परेपछि चुनमतीको संघर्ष सडकछेउमै

  • नमस्ते कर्णाली

  • २३, बैशाख २०८२
    जुम्ला।वैशाख महिनाको चर्को घाम, धुलाम्मे सडक र पसिनाले भिजेको शरीर। अनुहारमा थकाइ र आँखामा निराशा। यही दृष्यले जुम्लाको चन्दननाथ नगरपालिका–४ मालाभिडको सडक छेउमा गिट्टी कुटिरहेकी ३५ वर्षीया चुनमती शाहीको जीवनको वास्तविकता बोकेको छ।

    मुगु जिल्ला राराछायाँनाथ नगरपालिका–७ पिनाकी स्थायी बासिन्दा शाही दुई वर्षअघि मात्रै सामान्य गृहिणी थिइन्। श्रीमान् गोर्खराज शाहीसँग सँगै बसेर दुई सन्तान हुर्काइरहेकी थिइन्। तर २०८० कात्तिक ८ मा मुगुमा भएको सामूहिक हत्याकाण्डपछि श्रीमान् जेल परेपछि उनको संसार एकाएक ढलेको छ।

    अब उनी जुम्लामा अर्काको घरमा बसेर गिट्टी कुटेर दुई छोराछोरीको पेट पाल्दैछिन्। “गिट्टी कुट्न छोडेपछि चुल्हो बल्दैन,” उनी भन्छिन्, “गिट्टी बेचिएन भने खान पाइनँ, पढ्ने त परको कुरा।”

    चुनमतीको छोरी ११ वर्षीया खुसी र छोरा ५ वर्षे लक्की अहिले स्कूल जान पाएका छैनन्। “अरूका छोराछोरी अक्षर चिन्छन्, मेरा ढुंगा गन्ति गर्छन्,” उनी भक्कानिन्छिन्। कहिले काँधमा ढुंगा, कहिले हातमा हतोैडा लिएर उनी दिनभर सडकमा गिट्टी कुटिरहेकी हुन्छिन्।

    जुम्लामा गिट्टी प्रति ट्याक्टर ४ हजार रुपैयाँमा बिक्ने गरे पनि नियमित बिक्री नहुँदा उनको छाक टार्नै मुस्किल छ। एक हप्ता अघि मात्रै उनले ८ हजार रुपैयाँका गिट्टी बेचिन्। तर त्यो आम्दानी लामो समय टिक्दैन।

    उनकी घरधनी मन्नु सार्की स्वयं पनि गिट्टी कुटेर गुजारा चलाउने महिलामध्ये एक हुन्। “चुनमती बहिनीको जीवन साँच्चै संघर्षपूर्ण छ, म पनि सकेको सहयोग गर्छु,” मन्नुले सुनाइन्।

    जीवनका सपना, सन्तानको उज्यालो भविष्य र घरको शान्ति–सबै एकैपटक गुमाएकी चुनमतीले भनिन्, “भाग्य फुटेपछि त गिट्टी पनि फुट्दैन रहेछ।”

     

  • २३ बैशाख २०८२, मंगलवार ०८:१२ प्रकाशित

  • Nabintech