२३, बैशाख २०८२
बाँके । प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि विचार राख्दै बाँके क्षेत्र नं. १ बाट निर्वाचित सांसद सूर्य ढकालले प्रस्तुत नीति तथा कार्यक्रम समाजवादी मूल्य, संविधानको मर्म र जनताको अपेक्षाअनुसार आएको उल्लेख गर्नुभयो। सभामुखलाई सम्बोधन गर्दै उहाँले राजनीतिक अस्थिरता र अराजकताबाट लाभ खोज्ने समूहले अनावश्यक रूपमा असहमति जनाइरहेको अवस्थामा वर्तमान नीति तथा कार्यक्रमले देशलाई परिवर्तन, सुशासन, समृद्धि र स्थायित्वतर्फ अघि बढाउने स्पष्ट दिशा दिएको दाबी गर्नुभयो।
सांसद ढकालले चालु खर्च कटौती गर्दै पुँजीगत खर्चलाई प्राथमिकता दिइएको, विकास योजनाहरू समयमै सम्पन्न हुन नसक्ने कारण पहिचान गर्ने प्रयास गरिएका र संविधान संशोधनको आवश्यकतालाई समेत समेटिएको नीति कार्यक्रम समावेशी र यथार्थपरक रहेको धारणा राख्नुभयो। उहाँले विधेयक पारित गर्ने प्रतिबद्धता, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद र पूर्वाधारलाई प्राथमिकतामा राखिएको दृष्टिकोणलाई स्वागतयोग्य भन्दै मुलुकमा आर्थिक गतिशीलता ल्याउन र भ्रष्टाचार नियन्त्रणमा सशक्त हस्तक्षेप गर्ने तयारी देखिएको बताउनुभयो।
उहाँले देशका प्रमुख सहरहरू २४ घण्टा खुला राख्ने, सरकारी शिक्षकले आफ्ना बालबच्चा सरकारी विद्यालयमा पढाउनुपर्ने व्यवस्था मिलाउने, प्राविधिक शिक्षामा निजी क्षेत्रलाई सजिलो पहुँच दिने, सडक विस्तारमा अवरोध नहुने स्पष्ट मापदण्ड बनाउने लगायतका नीतिहरू समावेश गर्नुपर्ने प्रस्ताव गर्नुभयो। साथै, पालिका विकास प्राविधिकरण गठन गरी विकासमा एकद्वार प्रणाली लागू गर्न, केन्द्रका कर्मचारीको समुचित सरुवा गर्न, स्नातक तहपछि मात्रै विदेश पढ्न जान दिने व्यवस्था गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
सांसद ढकालले “एक सरकार, एक वर्ष, एक पालिका, एक योजना” अवधारणालाई व्यवहारमा ल्याउनुपर्ने, सडक निर्माणका सबै पूर्वाधार व्यवस्थापन भएपछि मात्र कालोपत्र गर्नुपर्ने र एकपटक बनेको सडक तीन वर्षसम्म नखन्ने नियम लागू गर्नुपर्ने सुझाव दिनुभयो। विद्युतीय कारोबारमा सुलभता ल्याउने, ठूला योजना संघले र साना योजना प्रदेश तथा स्थानीय तहले गर्ने नीति स्पष्ट पार्नुपर्ने, नयाँ उद्योग स्थापनामा रोजगारी सिर्जना गर्नेलाई कर छुट दिनुपर्ने र राष्ट्रिय गौरव योजनाहरू चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने उहाँको धारणा थियो।
बाँके जिल्लाले प्रत्येक वर्ष १७ देखि २१ अर्ब रुपैयाँसम्मको राजस्व केन्द्रमा बुझाउँदै आएको स्मरण गराउँदै सांसद ढकालले जिल्लालाई विकासको मूलधारमा ल्याउनका लागि सिक्टा सिञ्चाइ योजना, हुलाकी मार्ग, उत्तर–दक्षिण सडक, सिद्धिनघाट–नर्सरी सडक, कुसुमदेखि राजपुरसम्मका क्षेत्रमा पक्की पुल, राप्ती, डुडुवा, चुकेनालाको तटबन्धन, अगैया–कचनापुर–कम्दी सडक, कोहलपुर क्रिकेट मैदान, रिङ्ग रोड, सुविधा सम्पन्न बाल अस्पताल, मध्यवर्ती क्षेत्रमा तारबार र खेलकुद विश्वविद्यालय स्थापनाजस्ता योजनामा बजेट विनियोजन गर्न सरकारसमक्ष आग्रह गर्नुभयो।
सांसद ढकालले बाँकेलाई खेल, स्वास्थ्य, पूर्वाधार र कृषि प्रवर्द्धनको केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गर्दै आगामी वर्षको नीति तथा कार्यक्रममार्फत जनअपेक्षा पूरा हुने विश्वास व्यक्त गर्नुभयो।