जानकी गाउँपालिकामा भूमिहीनलाई लालपूर्जा वितरणको प्रक्रिया सुरु, राम गाउँबाट जग्गा नापजाँच प्रारम्भ

  • नमस्ते कर्णाली

  • २५, बैशाख २०८२
    बाँके । बाँकेको जानकी गाउँपालिकाले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरणका लागि राम गाउँबाट जग्गा नापजाँचको काम औपचारिक रूपमा सुरु गरेको छ।

    भूमि समस्या समाधान आयोगको जिल्ला समिति पूर्ण भएपछि रोकिएको जग्गा नापजाँच कार्य पुनः सुरु गरिएको जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले जानकारी दिए। वडा नं. ५ को राम गाउँमा आज नापजाँच कार्यको शुभारम्भ गर्दै अध्यक्ष खाँले भूमिहीन समुदायको दीर्घकालीन समस्या समाधानका लागि आफ्नो नेतृत्वको स्थानीय सरकार प्रतिबद्ध रहेको बताए।

    “अब ढुक्क हुनुहोस्, तपाईँले जोतभोग गर्दै आएको जग्गाको मालिक तपाईँ नै हुनुहुनेछ,” अध्यक्ष खाँले भने, “नापजाँचमा खटिएका प्राविधिकलाई सहयोग गरेर प्रक्रिया सहज बनाउन सबैले साथ दिनुहोस्।”

    जानकी गाउँपालिका वडा नं. ५ का अध्यक्ष टिकानाथ यादवले यस अभियानले स्थायी समाधान दिने विश्वास व्यक्त गर्दै सबै वडावासीलाई सहकार्य गर्न आग्रह गरे। गाउँपालिकाका भूमि शाखाका सर्वेक्षक गोकुल यादवका अनुसार वडा नं. ५ मा करिब ६०० जना भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी छन्।

    कार्यक्रममा भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनाल, सदस्य तलत प्रवीण खान, सदस्य सचिव तथा नापी कार्यालय बाँकेका प्रमुख गुणेश्वर यादव, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विक, कार्यपालिका सदस्य, योजना शाखा प्रमुख शोभा पौडेल, भूमि शाखाका प्राविधिक तथा स्थानीयहरूको सहभागिता रहेको थियो।

  • २५ बैशाख २०८२, बिहीबार ११:११ प्रकाशित

  • Nabintech