धार्मिक सदभावकालागि धार्मिक सर्किट बनाउदै नेपालगञ्ज उपमहानगर

  • नमस्ते कर्णाली

  • २५, बैशाख २०८२
    बाँके ।नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्ज क्षेत्रमा रहेका धार्मिक स्थलहरूलाई व्यवस्थित गरी धार्मिक सर्किट बनाउने तयारी गरेको छ । नेपालगन्जमा रहेका धार्मिक स्थलहरू जोडेर धार्मिक सर्किट बनाउने निर्णय नेपालगन्ज उपमहानगरपालिका कार्यपषलिका बैठकले गरेको हो ।

    नेपालगन्जमा रहेका सबै धर्मका धार्मिक स्थल जोडेर व्यवस्थित रूपमा धार्मिक सर्किट पहल गर्दै त्यसका लागि योजना समेत उपमहानगरपालिकाले बनाउने तयारी गरेको छ ।
    नेपालगन्ज उप–महानगरपालिका धार्मिक, सांस्कृतिक, साम सामाजिक विविधताले भरीपूर्ण पुरानो ऐतिहासिक सहरको रूपमा चिनिदै आएको सन्दर्भमा हिन्दुहरूको बागेश्वरी मन्दिर, मुस्लिम समुदायको जामा मस्जिद, शिख समुदायको गुरुद्वारा, १०८ फिटे हनुमानगढी परिसरको धार्मिक तथा सांस्कृतिक महत्व रहेकोले वि.पी. चोकदेखि वीरेन्द्र चोक हुँदै बागेश्वरी प्रवेशद्वार, स्टारलज हुँदै, पूर्वतर्फ घरवारीटोल पिपलबोट, भानुभक्त चोक, दक्षिणतर्फ त्रिवेणी मोड हुँदै पश्चिमतर्फ बागेश्वरी मन्दिर, खानेपानी ट्याङ्की, १०८ फिटे हनुमानगढी, गुरुद्वारा, जामा मस्जिद, वि.पी. चोकसम्म धार्मिक सदभावको सर्किट (क्षेत्र) को रूपमा व्यवस्थित गरी योजनाबद्व विकासका लागि पहल गर्ने निर्णय गरिएको हो ।

    नेपालगन्जको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा प्रत्येक साता सोमबार महाआरती हुने गरेको छ । जसमा भक्तजनको संख्या बढ्दै गएको छ । उपमहानगरपालिकाकै पहलमा १ सय ८ फिटे हनुमानको मूर्ति निर्माण हुँदैछ भने बागेश्वरी मन्दिर परिसरमा रहेको जुंगेश्वर महादेवकको मन्दिर पुननिर्माणपछि नयाँ मूर्ति समेत स्थापित भैसकेको छ ।

    हनुमान मूर्तिको लागत भने बढेको छ । सुरुमा मूर्ति निर्माणका क्रममा छुटेका विषय समेट्दै उपमहानगरपालिकाले लागु वृद्धि स्वीकृत गरेको छ । हनुमान मूर्तिका लागि सुरुमा ११ करोड २८ लाख २७ हजार ६ सय ९५ मा ठेक्का लगाइएकोमा त्यसमा विभिन्न विषय छुट भएपछि भेरिएस मार्फत २९.९६ प्रतिशत लागत बढेको हो । उपमहानगरपालिकाको कार्यपालिका बैठकले हनुमान मूर्तिको लागत १४ करोड ४ लाख ६३ हजार ७ सय ४३ कायम गरेको छ । बहुबर्षिय योजनामा रहेको हनुमानको उक्त मूर्तिका लागि चालु आ।व।मा ३ करोड बजेट विनियोजन भएकोमा कार्यपालिका बैठकले आगामी आ.व. २०८२/०८३ का लागि १ करोड ७५ लाख र आ.व. ०८३/०८४ का लागि ४७ लाख ३५ हजार ६ सय ५४ रूपैयाँ विनियोजन गर्ने निर्णय गरेको छ । नेपालगन्जमा हनुमानको १ सय ८ फिट मूर्ति निर्माण भएपछि त्यसले आन्तरिक तथा बाह्य पर्यटकको समेत वृद्धि हुने विश्वास गरिएको छ ।

     

     

  • २५ बैशाख २०८२, बिहीबार ११:१३ प्रकाशित

  • Nabintech