“चुरे रहे मात्र रहन्छौँ हामी” — चमेरेमा चुरे संरक्षणबारे महत्वपूर्ण छलफल सम्पन्न

  • नमस्ते कर्णाली

  • २६, बैशाख २०८२
    बाँके। “चुरे रहे मात्र रहन्छौँ हामी, दोहन रोकौँ बनेर ज्ञानी” भन्ने मूल नारासहित चुरे संरक्षणको संवेदनशील विषयमा चुरे क्षेत्रमै पुगेर महत्वपूर्ण छलफल सम्पन्न गरिएको छ। बाँके जिल्लाको चमेरे क्षेत्रमा आयोजना गरिएको उक्त कार्यक्रममा बाँके, बर्दिया, सुर्खेत र सल्यान जिल्लाका जैविक करिडोर तथा बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रलाई केन्द्रमा राख्दै सरोकारवाला निकाय, स्थानीय सरकार तथा पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो।

    कार्यक्रममा वक्ताहरूले चुरे क्षेत्रको जैविक र पर्यावरणीय महत्वबारे चर्चा गर्दै यसको संरक्षणमा सबै तहबाट सक्रियता आवश्यक रहेको जनाए।

    भेरी गंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले आफ्नो नगरपालिकाले वन तथा वन्यजन्तु संरक्षणसम्बन्धी ऐन निर्माण गरी कार्यान्वयनमा लगेको जानकारी गराउँदै, पर्यटन प्रवर्द्धनमा प्रतिबद्धता जनाउनुभयो। उहाँले बाँके राष्ट्रिय निकुञ्जको पूर्वाधार विकास भइसकेकाले पर्यटकलाई प्रकृतिसँगको सामिप्यता दिलाउनु आवश्यक रहेको धारणा राख्नुभयो।

    बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले पाँच ‘स’ – संरक्षण, समन्वय, सहकार्य, समृद्धि र सहअस्तित्व – लाई अभियानका रूपमा अघि बढाउने बताएका छन्। उहाँले चुरे दोहन रोकिएन भने तल्लो तटीय क्षेत्र जोखिममा पर्ने स्पष्ट चेतावनी दिनुभयो।

    मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले संरक्षणसँगै समुदायको आयआर्जन जोड्नुपर्नेमा जोड दिँदै, सरोकारवाला निकायले स्थानीय पीडा सम्बोधनमा गम्भीर ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो।

    कार्यक्रमको आयोजना विश्व वन्यजन्तु संरक्षण पत्रकार मञ्चले गरेको हो। मञ्चका अध्यक्ष हुमहरि भट्टराईले संरक्षणबारे जनचेतना फैलाउने उद्देश्यले चुरे क्षेत्रमै कार्यक्रम गरिएको जानकारी दिनुभयो। कार्यक्रम मञ्चका महासचिव सनत सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो।

    कार्यक्रम समापनमा वरिष्ठ संरक्षण अधिकृत कँडेलले मेयर ढकाललाई बाँके राष्ट्रिय निकुञ्ज भ्रमणको निम्तो दिँदै मायाको चिनो हस्तान्तरण गर्नुभयो। कार्यक्रमको समन्वय गोरखा युनाइटेड पब्लिक स्कुल र युथ मिडिया हबले गरेका थिए।
    सहभागीहरूका अनुसार, यसखाले कार्यक्रमले चुरे संरक्षणप्रति जनमानसमा सकारात्मक सन्देश पुर्‍याउने र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

     

     

  • २६ बैशाख २०८२, शुक्रबार ०८:४० प्रकाशित

  • Nabintech