२६, बैशाख २०८२
बाँके। बाँकेमा रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, कोहलपुर शाखाले आफ्ना केन्द्र प्रमुखहरुका लागि एक दिने कार्यशाला गोष्ठी आयोजना गरेको छ। गोष्ठीको उद्घाटन कोहलपुर नगरपालिका वडा नं. ११ की अध्यक्ष कल्पना शर्माले गर्नुभएको हो।
कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष शर्माले सानो पूँजीबाट पनि उद्यमशील बन्न सकिने कुरामा जोड दिनुहुँदै महिलाहरुलाई जथाभावी ऋण नलिन र त्यसलाई आर्थिक आयआर्जनमा लगानी गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो “कतिपय महिलाले लघुवित्तबाट प्रगति गरेका छन् भने केहीको घरबार ऋणकै कारण बिचल्ली भएको छ।” उहाँले महिला दिदीबहिनीहरुलाई अरुको नाममा ऋण लिएर किचलो सिर्जना नगरी उत्पादनमूलक क्षेत्रमा ध्यान दिन प्रेरित गर्नुभयो।
कार्यक्रममा कोहलपुर शाखा कार्यालय प्रमुख बीरेन्द्र चौधरीले संस्थाको वार्षिक प्रगतिबारे जानकारी दिनुहुँदै ऋणको सदुपयोग गर्न केन्द्र प्रमुखहरुलाई आग्रह गर्नुभयो। उहाँले संस्था सामाजिक उत्तरदायित्व अन्तर्गत बीमा, सुत्केरी स्याहार खर्च, छात्रवृत्ति, दैवीप्रकोपमा राहत, गम्भीर रोगीलाई सहायता तथा स्वास्थ्य शिविरजस्ता कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो। ती कार्यक्रमबाट अधिकांश महिला दिदीबहिनीहरु लाभान्वित भएको उहाँले बताउनुभयो।
क्षेत्रीय कार्यालय कोहलपुरका प्रमुख मिनबहादुर हमालले वित्तीय साक्षरताको महत्वमा जोड दिनुभयो। उहाँले केन्द्र संचालनका क्रममा देखिने समस्याको समाधानका लागि नियमित छलफल गरिने बताउनुभयो।
कार्यक्रममा मृत सदस्य नन्दकली खत्रीको नाममा रहेको ऋण बिमा अन्तर्गत ४ लाख ५५ हजार रुपैयाँ मृतकका पति रत्नबहादुर खत्रीलाई हस्तान्तरण गरिएको छ। यस्तै, उच्च माध्यमिक तहमा उत्कृष्ट अंक ल्याएका अमृता रोका मगरका छोरा सुदिर रोका मगर र नैनसरा खत्रीकी छोरी साधना खत्रीलाई जनही १० हजार रुपैयाँसहित सम्मान गरिएको छ।
कार्यक्रमकी अध्यक्ष तथा चिसापानी केन्द्र नं. १ की केन्द्र प्रमुख एकता शाहले लघुवित्तमार्फत आफू सहकारी यात्रामा सफल भएको अनुभव बाँड्दै महिलालाई ऋणको दुरुपयोग नगर्न आग्रह गर्नुभयो। “लघुवित्तले मलाई बचत गर्न सिकायो, ऋण लिएर उद्यमी बन्न प्रेरणा दियो,” उहाँले भन्नुभयो।
गोष्ठीमा ८० भन्दा बढी केन्द्रका केन्द्र प्रमुखहरुको उत्साहजनक उपस्थिति रहेको थियो। सहभागी महिलाहरुले पनि निर्धन उत्थान लघुवित्तमार्फत आफूहरुको आर्थिक, सामाजिक र आत्मविश्वासको स्तरमा उल्लेखनीय प्रगति भएको अनुभव साझा गरेका थिए।
कार्यक्रम सञ्चालन नम्रता बिष्टले गर्नुभएको थियो भने स्वागत मन्तव्य कुसुम रानाले व्यक्त गर्नुभएको थियो।
संस्थाका आन्तरिक लेखा परीक्षक गोबिन्द पंगेनी, कार्यक्रम अधिकृत ध्रुवराज जोशी लगायतको उपस्थिति रहेको उक्त कार्यशालामा कोहलपुर शाखामा आबद्ध ४४ सयभन्दा बढी सदस्य प्रतिनिधित्व भएको जनाइएको छ।