२८, बैशाख २०८२
बाँके ।बैजनाथ गाउँपालिकाले विश्वकर्मा समुदायको पुर्ख्यौली आरन व्यवसायलाई आधुनिकीकरण गर्ने र स्वरोजगारमुखी बनाउने उद्देश्यसहित ३० दिने सीप विकास तथा प्रविधि हस्तान्तरण तालिम सुरु गरेको छ।
गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीका अनुसार फलामे औजार उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने र आरन व्यवसायबाट रोजगारी सिर्जना गर्ने लक्ष्यसहित पालिकाले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो।
“गाउँतिर खेतीपातीमा लाग्नेको सङ्ख्या घट्दै गएको, सीमित कृषकले मात्र आधुनिक उपकरण प्रयोग गर्न थालेको, बजारमा घरेलु हतियार सहज रूपमा उपलब्ध हुने जस्ता कारणले स्थानीय सीपमा आधारित आरन व्यवसाय संकटमा परेको छ,” अध्यक्ष शाहीले बताए।
आरन व्यवसायलाई समयसापेक्ष, व्यावसायिक र आत्मनिर्भर बनाउने उद्देश्यले पालिकाले प्राविधिक उपकरण, कोइला, काँचो फलाममा अनुदान र आधुनिक प्रविधिको तालिम दिने योजना अघि सारेको हो।
तालिममा फलामका सामग्री निर्माण, डिजाइन सुधार, उत्पादनको गुणस्तर वृद्धिका साथै बजार पहुँच विस्तार र व्यावसायिकता सम्बन्धी सीप प्रदान गरिनेछ। तालिमपछि सहभागी व्यवसायीहरूलाई आवश्यक प्रविधि र उपकरण समेत हस्तान्तरण गरिने अध्यक्ष शाहीले जानकारी दिए।
उक्त तालिमले स्थानीय व्यवसायीहरूलाई आत्मनिर्भर बन्ने, नयाँ सीप सिक्ने तथा आधुनिक प्रविधिको प्रयोगबाट उत्पादन र आम्दानीमा वृद्धि गर्ने आशा व्यक्त गरेका छन्।
गाउँपालिकाको यो पहलले आरन व्यवसायको संरक्षण र प्रवर्द्धनमार्फत समाज र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।
यसलाई अझ प्रभावकारी बनाउने उद्देश्यले पालिकाले आगामी दिनमा थप सहयोग र अनुदान कार्यक्रम पनि ल्याउने संकेत गरेको छ।