भारत–पाकिस्तान तनावपछि नेपाल–भारत सीमामा कडाई, जमुनाहा नाकामा अनिवार्य परिचयपत्र प्रणाली लागू

  • नमस्ते कर्णाली

  • २८, बैशाख २०८२
    बाँके ।भारत–पाकिस्तानबीचको पछिल्लो द्वन्द्व तनावपछि नेपाल–भारत सीमामा कडाइ गरिएको छ। विशेषगरी नेपालगञ्जस्थित जमुनाहा नाका लगायत बाँके जिल्लाका सबै सीमावर्ती नाकाहरूमा सुरक्षामा उच्च सतर्कता अपनाइएको छ।

    सशस्त्र प्रहरी बल (एपीएफ) प्रस्तावित सीमा सुरक्षा गुल्म जयसपुरका डिएसपी महेश केसीका अनुसार सम्भावित घुसपैठ नियन्त्रण गर्न जमुनाहा नाकासहित सबै साना नाकाहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ। उनले भने, “अबदेखि नेपाली तथा विदेशी नागरिकलाई परिचय खुल्ने वैध कागजात बिना सीमा पार गर्न अनुमति दिइने छैन।”

    नेपाल बाहेकका नागरिकहरूलाई विशेष सोधपुछपछि मात्रै गन्तव्यतर्फ जान दिने गरिएको छ। भारतबाट नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिको परिचय खुल्ने कागजात अनिवार्य रूपमा जाँच गरिने व्यवस्था गरिएको छ।

    यसअघि भारतीय सुरक्षा निकाय एसएसपीले रुपैडिहा नाकामा अनिवार्य परिचयपत्र माग्ने गरेको थियो। हाल सशस्त्र प्रहरी बलले जमुनाहा नाकामा पनि सोही प्रकृया अपनाएको हो।

    डिएसपी केसीका अनुसार सबै प्रमुख र साना नाकाहरूमा पनि संयुक्त गस्ती तथा एकल गस्ती तीव्र पारिएको छ। “गलत नियतका व्यक्तिहरूले नेपाल प्रवेश गर्न नपाउन मुख्य नाकामा कडाइसँग परिचयपत्र हेर्न थालिएको हो,” उनले स्पष्ट पारे।

    यसका साथै, भारतीय पक्षले विशेष तालिम प्राप्त सुरक्षाकर्मी र तालिमप्राप्त कुकुरको प्रयोग गर्दै सीमा नाकामा कडाइ गरेको छ।

    भारत–पाकिस्तान तनावको प्रभावस्वरूप भारतबाट नेपाल फर्किने नेपालीहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको र उनीहरूको आवागमनमा समेत निगरानी बढाइएको डिएसपी केसीले जानकारी दिए।

    नेपाल–भारत सीमा सुरक्षालाई थप व्यवस्थित र सुरक्षित बनाउन दुवै देशका सुरक्षाकर्मीहरूले आपसी समन्वयमा गस्तीलाई निरन्तरता दिइरहेका छन्।

  • २८ बैशाख २०८२, आईतवार ०९:३५ प्रकाशित

  • Nabintech