२८, बैशाख २०८२
बाँके ।बैशाख २६ गते बसेको नेकपा (एमाले) बाँकेको शिक्षा तथा मानव श्रोत विभागको ६औं पूर्ण बैठकको निर्णय अनुसार आठवटै पालिकामा शिक्षा क्षेत्रमा बजेट दोब्बर वृद्धि गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाउने अभियान सुरु गरिएको छ। पार्टीका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज शान्ति ढकालको प्रमुख आतिथ्यतामा र बाँके अध्यक्ष निरक गुरुङको विशेष आतिथ्यतामा सम्पन्न बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा विगतको तुलनामा शिक्षा क्षेत्रमा दोब्बर बजेट विनियोजन गर्नुपर्ने निष्कर्ष निकालेको बिभागका प्रमुख सुर्य रोकायाले बताएका छन् ।
उक्त निर्णय कार्यान्वयन गर्न आज नेपालगञ्ज उपमहानगरपालिका, जानकी गाउँपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाइएको छ। बाँकी रहेका राप्ती सोनारी, नरैनापुर, कोहलपुर नगरपालिका र डुडुवा गाउँपालिकामा यही बैशाख ३० गतेसम्म ध्यानाकर्षण पत्र बुझाइने कार्यक्रम तय गरिएको छ।
शिक्षा क्षेत्रको सुधारका लागि स्थानीय सरकारहरूले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता रहेको बैठकमा सहभागी नेताहरूले बताएका छन्। विद्यालयहरूको भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षा, शिक्षक व्यवस्थापन, शैक्षिक सामग्रीको पहुँचजस्ता विषयहरूमा सरकारले प्राथमिकता दिनु पर्ने बैठकको निष्कर्ष थियो।
पार्टीले शिक्षा क्षेत्रमा दीर्घकालीन योजना अनुसार लगानी बढाउनुपर्ने भन्दै जनप्रतिनिधिहरू र पालिका प्रमुखहरूलाई समेत सम्बोधन गरी ज्ञापन पत्र बुझाएको हो। एमाले बाँकेले यस अभियानलाई निरन्तरता दिने र जनस्तरमा शिक्षा सुधार अभियानलाई व्यापक बनाउने समेत बताएको छ।
बैठकमा सहभागी नेताहरूले शिक्षा क्षेत्रको सुधारविना मुलुकको समुन्नति सम्भव नरहने धारणा व्यक्त गर्दै पार्टी स्तरबाट पहल जारी राखिने बताएका छन्।