सडक दुर्घटना न्युनिकरणमा सचेतना कार्यक्रम महत्वपूर्ण : अध्यक्ष बेल्वासे

  • नमस्ते कर्णाली

  • ३१, बैशाख २०८२
    रुपन्देही। सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण प्रसाद बेल्वासेले सडक दुर्घटना न्युनिकरण तथा रोकथामका लागि सचेतना कार्यक्रमहरू अत्यन्तै महत्वपूर्ण हुने बताएका छन्।

    उनले भने, “सवारी दुर्घटना न्युनिकरण एवं रोकथामका लागि सुरक्षित यात्रा नेपालले विभिन्न संघ–संस्था एवं कार्यालयहरूको सहयोग र समन्वयमा काम गर्दै आएको छ। यस्ता कार्यक्रमहरूले आम नागरिकमा चेतना फैलाउन मद्दत पुग्नेछ र सडक दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ।”

    कार्यक्रम सोमबार बिहान तिलोत्तमा नगरपालिकाको मणिग्राममा सम्पन्न भएको हो। सुरक्षित यात्रा नेपालको आयोजनामा, तिलोत्तमा नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको सहकार्य तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलको समन्वयमा कार्यक्रम सम्पन्न गरिएको हो।

    शंकरपुर चोकदेखि सुरु भएको र्‍याली मणिग्राम चोकमा पुगेर विविध ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रम प्रस्तुत गरिएको थियो। कार्यक्रममा दुर्घटना पश्चात गरिने ट्राफिक उद्धार तथा व्यवस्थापन सम्बन्धी सडक नाटक (डेमो), ट्राफिक सचेतना सम्बन्धी गीत–नृत्य प्रस्तुति, जेब्रा क्रसिङ प्रयोग अभ्यासलगायतका गतिविधिहरू प्रदर्शन गरिएका थिए।

    कार्यक्रमका प्रमुख अतिथि तथा तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणले सवारी दुर्घटना दिनप्रतिदिन बढिरहेको उल्लेख गर्दै त्यसको न्यूनीकरण तथा समाधानका लागि सबै पक्षले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।

    त्यस्तै, नेपाल प्रहरी लुम्बिनी प्रदेश प्रमुख (डिआइजी) राजेन्द्र प्रसाद भट्ट, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अयोध्या प्रसाद भण्डारी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्र बन्धु शर्मा लगायतले ट्राफिक सचेतनाका पक्षमा मन्तव्य राखेका थिए।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्री, शसस्त्र प्रहरी बल नेपाल नं २७ हेडक्वाटर रुपन्देहीका शसस्त्र प्रहरी उपरीक्षक मेघराज जोशी, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्र राना, विभिन्न यातायात व्यवसायी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, विद्यालयका शिक्षक तथा विद्यार्थी, पत्रकार, सुरक्षाकर्मी र स्थानीय नागरिकको उल्लेखनीय उपस्थिति रहेको थियो।

    सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण प्रसाद बेल्वासेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख (प्रहरी निरीक्षक) रन्जु के.सी.ले गरेकी थिइन् भने कार्यक्रम संयोजक दीपक ढकालले स्वागत मन्तव्य दिएका थिए।

  • १ जेष्ठ २०८२, बुधबार २०:२९ प्रकाशित

  • Nabintech