२, जेष्ठ २०८२
बाँके । लुम्बिनी प्रदेश सरकारले समुदायस्तरमा नागरिकको स्वास्थ्य पहुँच विस्तार गर्ने लक्ष्यसहित सञ्चालनमा ल्याएको ‘पारिवारिक स्वास्थ्य प्रोफाइल’ अभियान बाँकेमा तीव्र गतिमा अघि बढिरहेको छ। अभियान सुरु भएको एक महिनामै ५५ हजार ८२३ जनाको मोबाइल एपमार्फत स्वास्थ्य विवरण संकलन गरिएको बाँके स्वास्थ्य कार्यालयले जनाएको छ।
यस अभियानअन्तर्गत स्वास्थ्यकर्मीहरू घरघरमै पुगेर गर्भवती, नवजात शिशु, दुई वर्षमुनिका बालबालिका, किशोरी र महिलाको स्वास्थ्य तथा पोषण सम्बन्धी विवरण संकलन गरिरहेका छन्। डुडुवा गाउँपालिकाको दुर्गम बोडर चौफेरीमा भेटिएकी सि. अनमी सिमा घर्तिमगर खानले भनिन्, “यो अभियानले सेवाग्राही र सेवा प्रदायक दुवैको मोबाइलमा सन्देश पठाउने व्यवस्था हुने भएकाले नियमित स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि हुन्छ।”
स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेश श्रेष्ठका अनुसार अभियान प्रभावकारी बनाउन जिल्लाका ८ वटै पालिकाका ८१ वटै वडामा १६२ जना स्वास्थ्यकर्मी परिचालित गरिएको छ। तर नेपालगंज उपमहानगरपालिकामा अपेक्षाकृत कम विवरण संकलन भएपछि थप स्वास्थ्यकर्मी खटाइएको बताइएको छ।
हालसम्म संकलित विवरण यस्तो छ:
कोहलपुर नगरपालिका: ११,०४१ जना
बैजनाथ गाउँपालिका: ९,५९१ जना
राप्तीसोनारी गाउँपालिका: ९,३७२ जना
खजुरा गाउँपालिका: ६,९८३ जना
नरैनापुर गाउँपालिका: ५,६०७ जना
डुडुवा गाउँपालिका: ५,३११ जना
जानकी गाउँपालिका: ४,४३५ जना
नेपालगंज उपमहानगरपालिका: ३,४८३ जना
बाँकेमा १ लाख २९ हजार ३०७ घरधुरीमा पुगेर विवरण संकलन गर्ने लक्ष्य राखिएको भए पनि अहिलेसम्म करिब ५० प्रतिशत मात्र डाटा संकलन भएको श्रेष्ठले जानकारी दिनुभयो।
उहाँका अनुसार, यो अभियानले मातृ तथा शिशु मृत्युदर न्यूनीकरणमा ठुलो योगदान पुर्याउनेछ। “गर्भावस्था देखि सुत्केरी भएको ४२ दिनसम्मको अवस्था तथा दुई वर्ष मुनिका बालबालिकाको पोषण र स्वास्थ्य स्थितिको समयमै पहिचान गरी सेवा उपलब्ध गराउन अभियान प्रभावकारी भएको छ,” उहाँले भन्नुभयो।
डुडुवा गाउँपालिकाका स्वास्थ्य संयोजक हेमन्त शर्माले प्रत्येक घरधुरीमा पुगेर गर्भवती महिला, नवजात शिशु र पोषण अभावमा रहेका बालबालिकाको निगरानी र खोप सेवा सुनिश्चित गर्ने काम भइरहेको जानकारी दिनुभयो।
बाँकेमा अझै पनि धेरै महिलाले नियमित गर्भ जाँच नगर्ने र स्वास्थ्य संस्थामा सुत्केरी हुन नआउने प्रवृत्ति रहेकाले मातृ–शिशु मृत्युदर न्यूनिकरण चुनौतीपूर्ण बन्दै गएको जनाइएको छ। यस्तो अवस्थामा पारिवारिक स्वास्थ्य प्रोफाइल अभियानले स्वास्थ्य सेवा पहुँच र प्रभावकारिता दुवैमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।