५, जेष्ठ २०८२
बाँके ।नेपालगन्ज उपमहानगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। १६ देखि २३ महिनाका तथा १६ देखि ५९ महिनासम्मका बालबालिकालाई १५ महिनाभित्रका सम्पूर्ण खोप उपलब्ध गराइएको आधारमा यो घोषणा गरिएको हो।
घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, उपप्रमुख सीता कार्की, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, र स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठलगायतको उपस्थिति थियो।
सो अवसरमा वक्ताहरूले पूर्णखोप सुनिश्चितता तथा दिगोपनामा स्वास्थ्यकर्मीहरूको अथक योगदानको प्रशंसा गर्नुभएको थियो।
स्वास्थ्य महाशाखा प्रमुख चन्दका अनुसार नेपालगन्जमा १५ महिनादेखि २३ महिनासम्मका ३,३५७ बालबालिकामध्ये ३,१११ जनाले पूर्णखोप प्राप्त गरेका छन्। त्यसपछि गरिएको घरधुरी सर्वेक्षणमार्फत ड्रपआउटमा परेका २१८ र शून्य डोजका २८ जना बालबालिकालाई समेत समेटिएको जनाइएको छ।
नेपालगन्जमा २०७६ सालमै पूर्णखोप घोषणा भइसकेको थियो भने त्यसयता प्रत्येक वर्ष दिगोपना सुनिश्चित गर्दै आएको छ। बाँके जिल्लाका आठ पालिकामध्ये सात पालिकामा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेको छ। बाँकी नरैनापुर गाउँपालिकालाई केही दिनभित्र घोषणा गरिने र त्यसपछि बाँके जिल्लालाई पूर्णरूपमा घोषणा गरिने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख श्रेष्ठले जानकारी दिनुभयो