६, जेष्ठ २०८२
बाँके । द्वन्द्वपीडित तथा एकल महिला संजाल बाँकेको आयोजनामा द्वन्द्व प्रभावित, बेपत्ता तथा एकल महिलाहरूलाई लक्षित गरी आयोजित ७ दिने अचार बनाउने तालिम सोमबार सम्पन्न भएको छ। “सीप सिकौं, आत्मनिर्भर बनौं” भन्ने उद्देश्यले सञ्चालित उक्त तालिमको समापन कार्यक्रममा संस्थापक अध्यक्ष शोभा बि.सी.ले महिलाहरूले आत्मनिर्भर बन्दै समाजका लागि उदाहरणीय बन्नु पर्ने धारणा राख्नुभयो।
“अझै पनि द्वन्द्वको पीडा भुलिएको छैन, तर यस्ता तालिमहरूले हाम्रो घाउमा मल्हम लगाउने काम गरेका छन्,” उहाँले भावुक हुँदै भन्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपालगन्ज उपमहानगरपालिका–९ का वडाध्यक्ष गोविन्द प्रसाद रेग्मीले संजालको आफ्नै भवनमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने आवश्यकता औंल्याउनुभएको थियो। उहाँले वडा कार्यालयले संस्थाको उद्देश्यअनुरूप सहयोग गर्दै आएको र आगामी दिनमा सीपमूलक अन्य तालिमहरू पनि संचालन गरिने प्रतिबद्धता जनाउनुभयो।
तालिमकी प्रशिक्षक अनु पाण्डेले सहभागी महिलाहरूको पीडा सुन्दै सान्त्वना दिने प्रयाससहित तालिम संचालन गरेको बताउँदै महिलाहरूको उत्साहले आफूलाई पनि थप प्रेरणा दिएको बताउनुभयो।
कार्यवाहक अध्यक्ष बिन्दा खरेलले ३० जना सहभागी महिलाहरूले ६ प्रकारका अचार बनाउन सीखेपछि तालिम सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो। संजालका सचिव विजया रोकाया र सदस्य जया आचार्यले अघिल्लो वर्षझैं यस वर्ष पनि तालिम संचालन गर्न पाउनुमा नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग र सहभागीहरूको सक्रियतालाई धन्यवाद दिनुभयो।
साझा पीडालाई साझा सम्भावनामा रूपान्तरण गर्दै अघि बढिरहेका द्वन्द्वपीडित तथा एकल महिलाहरूको यो प्रयास सामाजिक रुपान्तरणतर्फको सशक्त कदमका रूपमा हेरिएको छ।