७, जेष्ठ २०८२
बाँके ।बाँकेको खजुरा क्षेत्रमा पहिलोपटक संगीत सामग्रीको विशेष पसल ‘ईको म्युजिक’ सञ्चालनमा आएको छ। स्थानीय युवा व्यवसायी कल्याणराज श्रेष्ठले संगीत क्षेत्रमा रुचि राख्ने विद्यार्थी, विद्यालय, धार्मिक संस्था तथा क्लबलाई लक्षित गर्दै यो पसलको शुरुवात गरेका हुन्।
श्रेष्ठका अनुसार खजुरा क्षेत्रको शैक्षिक र सांस्कृतिक वृत्तमा तीव्र विकास भइरहेको सन्दर्भमा संगीत सामाग्रीको अभाव महसुस हुँदै आएको थियो। यसअघि भारत, काठमाडौं वा अन्य शहरबाट सामग्री झिकाउनु पर्ने बाध्यतालाई समाप्त गर्दै ‘ईको म्युजिक’ले स्थानीयस्तरमै संगीत सामग्री उपलब्ध गराएको छ।
पसलमा मादल, बाँसुरी, हार्मोनियम, की–बोर्ड, कङ्गो, इलेक्ट्रोनिक गिटार, ड्रम सेटजस्ता परम्परागतदेखि आधुनिक संगीत वाद्ययन्त्रहरू सहजै पाइने श्रेष्ठले जानकारी दिनुभयो। पसलको प्रारम्भिक लगानी करीब २५ लाख रहेको र ग्राहकले अर्डर गरेअनुसारका सामग्री पनि उपलब्ध गराउने व्यवस्था गरिएको छ।
पसल शुभारम्भ समारोहमा श्रेष्ठका पिता तथा खजुराका पुराना समाजसेवी शिवराज श्रेष्ठले वैदिक विधिअनुसार पूजा गरी पसलको शुभारम्भ गर्नुभएको थियो। पसल खुल्नेबित्तिकै स्थानीय विद्यालयका विद्यार्थी तथा संगीतप्रेमीहरूले चासो देखाउँदै सामग्री खरिद गर्न थालेको संचालकको भनाइ छ।
बजार विस्तारका लागि स्थानीय धार्मिक भजन टोली, विद्यालय, क्लब र कला तथा संगीतका समूहहरूलाई विशेष रूपमा आमन्त्रण गरिएको समेत श्रेष्ठले जानकारी दिनुभयो।