लुम्बिनी प्रदेश सरकारद्वारा बर्दियामा बहुउद्देश्यीय सडक तथा पुल निर्माणको शिलान्यास

  • नमस्ते कर्णाली

  • १०, जेष्ठ २०८२
    लुम्बिनी प्रदेश सरकारले प्रदेशभर सडक तथा पुल निर्माणलाई प्राथमिकतामा राख्दै तीव्रगतिमा विकास निर्माणका कामहरू अघि बढाइरहेको छ। सोही सिलसिलामा बर्दिया जिल्लामा एक महत्वपूर्ण बहुउद्देश्यीय सडक र पुल निर्माणको शिलान्यास गरिएको छ।

    बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत पूर्वपश्चिम महेन्द्र राजमार्गको वैकल्पिक मार्गका रूपमा, बारबर्दिया नगरपालिका हुँदै ठाकुर बाबा नगरपालिकालाई जोड्ने सडक निर्माण कार्यको भव्य समारोहबीच शिलान्यास गरिएको हो।

    लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल र सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले संयुक्त रूपमा उक्त सडकको शिलान्यास गर्नुभयो। कार्यक्रममार्फत बारबर्दिया, कतरिया, धदवार, गुलरिया, धामपुर, शक्तिनगर, जमुनिया गाउँ हुँदै ठाकुर बाबा नगरपालिका खैजारघाटदेखि औराही नदीसम्मको करिब २२ किलोमिटर लामो अस्फाल्ट सडक निर्माणको कार्य आरम्भ भएको हो।

    सडक पूर्वाधार विकास कार्यालय, बर्दियाका प्रमुख गोविन्द बहादुर महतराका अनुसार ५३ करोड ७८ लाख रुपैयाँ लागतमा साढे पाँच मिटर चौडाइको उक्त सडक २०८४ साल असार २० गतेसम्म निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ।

    सामाजिक विकास मन्त्री तिमिल्सिनाले उक्त सडकले बर्दिया जिल्लाको धार्मिक र जैविक विविधतासँग जोडिएको पर्यटन विकासमा टेवा पुर्‍याउने बताउनुभयो। साथै, कृषि उपजको ढुवानीमा पनि सहजता आउने विश्वास व्यक्त गर्नुभयो।

    उक्त अवसरमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बारबर्दिया नगरपालिका वडा नम्बर ५ र ६ जोड्ने बुढी कुलोस्थित जीर्ण काठेपुलको अवलोकन गर्दै आगामी आर्थिक वर्षमा पक्की पुल निर्माणका लागि बजेट विनियोजन गरिने आश्वासन दिनुभयो। त्यसैगरी, बैदा क्षेत्रको भादानदीमा निर्माण हुन लागेको ३० मिटर लम्बाइको पक्की पुलको पनि उहाँले शिलान्यास गर्नुभयो

    मन्त्री ढकालले कार्यक्रममा बोल्दै जनताको आवश्यकता अनुसार पूर्वाधारलाई प्रदेश सरकारको विकासको मेरुदण्डको रूपमा अघि सारिएको स्पष्ट पार्नुभयो।

    बारबर्दिया र ठाकुर बाबा नगरपालिकाका बासिन्दाहरू वर्षौंदेखि रातिको समयमा बर्दिया निकुञ्जका वन्यजन्तुको जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। यस्तो स्थितिमा सडक निर्माणले यात्रा सहज बनाउने छ। तर, बबई नदीमा पक्की पुलको अभावले यो सडक पूर्ण रुपमा सञ्चालनमा आउन अझै चुनौती रहेको छ। त्यसैले, बबई नदीमा पुल निर्माणका लागि संघीय सरकारसँग तत्काल समन्वय आवश्यक भएको सरोकारवालाहरूको माग छ।

     

     

  • ११ जेष्ठ २०८२, शनिबार ०९:५२ प्रकाशित

  • Nabintech