बाँकेको खजुरामा कुपोषणको दर ३ प्रतिशत, ओसीटी केन्द्र सञ्चालनसँगै ५६ बालबालिका सुपोषित

  • नमस्ते कर्णाली

  • ११, जेष्ठ २०८२
    बाँके ।बाँकेको खजुरा गाउँपालिकामा कुपोषणको दर तीन प्रतिशत पुगेको छ। खजुरा गाउँपालिका स्वास्थ्य शाखाले हालै गरेको प्रक्षेपण अनुसार दुई वर्ष मुनिका बालबालिकामध्ये कुपोषणको मात्रा गत वर्षको तुलनामा एक प्रतिशतले बढेको पाइएको हो। गत वर्ष यो दर दुई प्रतिशत मात्र थियो।

    स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी ओलीका अनुसार, चालु आर्थिक वर्षमा पालिकाले प्रत्येक स्वास्थ्य संस्थामा सञ्चालनमा ल्याएको ओसीटी (ओपि सिभियर थिनिङ) केन्द्रमार्फत खोज–पड्ताल कार्यलाई तीव्रता दिइएकाले कुपोषित बालबालिकाको संख्या पहिलेभन्दा बढी देखिएको हो। “ओसीटी केन्द्र सञ्चालनपछि हालसम्म ५६ जना कडा कुपोषित बालबालिकालाई सुपोषित बनाउन सफल भएका छौं,” प्रमुख केसीले भन्नुभयो।

    यद्यपि कुपोषणको प्रतिशत केही बढेको देखिए पनि यसलाई सकारात्मक संकेतको रूपमा लिइएको छ। शुक्रबार सम्पन्न पोषण कार्यक्रमको अर्धवार्षिक पालिका स्तरीय समीक्षा गोष्ठीमा बोल्दै पालिका अध्यक्ष डम्बर बहादुर बिकले ओसीटी केन्द्रले समस्या उजागर गर्न मद्दत गरेको उल्लेख गर्दै, “अर्को वर्ष कुपोषणको दरमा उल्लेखनीय कमी आउनेछ भन्ने विश्वास लिइएको छ,” जनाउनुभयो।

    कार्यक्रममा उपाध्यक्ष मन्जु मल्लले सबै बालबालिकालाई कुपोषणबाट जोगाउनु स्थानीय सरकारको प्राथमिक दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पोषण सुधारका योजना थप मजबुत बनाइने जानकारी दिनुभयो। सामाजिक विकास संयोजक कृष्णा पोखरेलले अहिलेको गतिमा स्वास्थ्यकर्मीले काम गरेमा कुपोषण न्युनिकरणतर्फ ठोस प्रगति हुने बताउनुभयो।

    स्वास्थ्य शाखाका अन्य विवरण अनुसार, प्रोटोकलअनुसार कम्तीमा ४ पटक गर्भवती जाँच गराउने महिलाको अनुपात गत वर्ष ६६ प्रतिशतबाट बढेर यस वर्ष ७१ प्रतिशत पुगेको छ। यस्तै, ८ पटक गर्भवती जाँच गराउने महिलाको प्रतिशत भने अघिल्लो वर्षझैं ४५ प्रतिशतमै स्थिर देखिएको छ।
    सुत्केरी महिलाले कम्तीमा तीन पटक उत्तर प्रसूति जाँच गराएको दर गत वर्ष १७२ प्रतिशत थियो भने चालु वर्षमा १६१ प्रतिशतमा झरेको प्रमुख केसीले जानकारी दिनुभयो।

     

     

  • १२ जेष्ठ २०८२, आईतवार १०:१९ प्रकाशित

  • Nabintech