अदानचुली गाउँपालिकालाई चिनियाँ सरकारको सूचना प्रविधि सहायता, पहिलो चरणको सामग्री हिल्साबाट हस्तान्तरण

  • नमस्ते कर्णाली

  • १२, जेष्ठ २०८२
    हुम्ला ।हुम्लाको अदानचुली गाउँपालिकालाई चीनको तिब्बत स्वायत्त क्षेत्र, अली प्रिफेक्चरअन्तर्गत पुलान काउन्टीले सूचना प्रविधि सम्बन्धी विभिन्न उपकरणहरू हस्तान्तरण गरेको छ।

    आइतबार पुलान काउन्टी च्यानल डिकोरेसन कम्पनीमार्फत पहिलो चरणमा प्रदान गरिएका सामग्रीहरू गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहलाई हिल्सा नाकामा औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

    गत फेब्रुअरी १७ मा अदानचुली गाउँपालिकाका अध्यक्ष सिंह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हंस महतारा र पुलान काउन्टीको विदेश मामिला कार्यालयबीच भएको सहमतिअनुसार जम्मा ३ करोड १२ लाख २६ हजार ९ सय २८ रुपैयाँ बराबरको सहयोग सामग्री प्रदान गरिने उल्लेख थियो। सो सहमतिअनुसार स्काभेटर, सूचना प्रविधि सामग्री, स्वास्थ्य चौकी तथा विद्यालय भवन निर्माणमा सहायता गरिने प्रतिबद्धता जनाइएको थियो।

    अध्यक्ष सिंहका अनुसार, पहिलो चरणमा सूचना प्रविधिसम्बन्धी सामग्री—लेनोभो डेस्कटप कम्प्युटर १९ थान, प्रिन्टर १९ थान, प्रोजेक्टर ४ थान, नोटबुक कम्प्युटर ७ थान, मोनिटर १०० थान, स्वीच मेसिन २० थान, भिडियो रेकर्डर ८ थान, नेटवर्क केबल ४ थान, मोनिटर कालोमा १० थान, डेमो क्यामेरा ७ थान र क्यास्टल हेडर ५ थान—हस्तान्तरण गरिएको हो।

     

    गाउँपालिकाका अध्यक्ष सिंह, उपाध्यक्ष कर्ण रोकाया, प्रमुख प्रशासकीय अधिकृत प्रदीप भण्डारी र वडा नं. ३ का अध्यक्ष डिलबहादुर फडेराको टोलीले सो सामग्री हिल्साबाट बुझेर गाउँपालिकामा ल्याएको हो।

    यी सबै सामग्रीहरू गाउँपालिका, वडा कार्यालय र सामुदायिक विद्यालयहरूमा आवश्यकतानुसार वितरण गरिने बताउँदै अध्यक्ष सिंहले “निरन्तर एक वर्षको प्रयासपछि यो सहयोग सम्भव भएको हो” भनेका छन्।

    चीनको सहयोग अन्तर्गत बाँकी सामग्री—एक थान स्काभेटर र पूर्वाधार विकासका अन्य पक्षमा दोस्रो चरणमा हस्तान्तरण गरिने पनि जानकारी दिइएको छ।

    विशेषगरी चीनले हाल नेपालमा अदानचुली गाउँपालिका (हुम्ला) र थुलुङ दुधकोसी गाउँपालिका (सोलुखुम्बु) लाई मात्र यस्तो प्रकारको सूचना प्रविधि तथा पूर्वाधार सहयोग उपलब्ध गराएको हो।

     

     

  • १३ जेष्ठ २०८२, सोमबार १०:३६ प्रकाशित

  • Nabintech