साइबर अपराध र बाल अधिकारबारे विद्यार्थी तथा युवाहरूलाई अभिमुखीकरण

  • नमस्ते कर्णाली

  • १३, जेष्ठ २०८२
    बाँके ।विद्यार्थी र एस.ओ.एस. अल्टरनेटिभ युथ क्लबका युवाहरूका लागि साइबर अपराध तथा सुरक्षा र बाल अधिकार तथा कर्तव्यका विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

    एस.ओ.एस. युवालय नेपालगन्जको आयोजनामा नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–२ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय र वार्ड नं.–१२ स्थित जय बागेश्वरी स्कुलबाट सात–सात जना विद्यार्थी तथा एस.ओ.एस. अल्टरनेटिभ युथ क्लबका युवाहरूको सहभागिता रहेको कार्यक्रममा साइबर सुरक्षा तथा अपराध सम्बन्धि महत्त्वपूर्ण जानकारी प्रदान गरिएको थियो।

    कार्यक्रमको पहिलो सत्रमा राधापुर प्रहरी चौकीका वरिष्ठ प्रहरी निरीक्षक लोकेन्द्र बहादुर कार्कीले सहजीकरण गर्दै सामाजिक सञ्जालमा सतर्कता अपनाउने विषयमा प्रशिक्षण दिनुभयो। उहाँले नचिनेका व्यक्तिको फ्रेन्ड रिक्वेस्ट स्वीकार नगर्नु, फेसबुक, इन्स्टाग्राम, वाट्सएप लगायतमा बलियो पासवर्ड राख्नु, पासवर्ड कसैलाई नदिनु, समय–समयमा परिवर्तन गर्नु, प्रयोगमा आएका मोबाइल, ल्यापटप तथा यस्तै अन्य विद्युतीय उपकरणहरूमा अनधिकृत पहुँच नदिनु लगायतका महत्वपूर्ण सुझाव दिनुभयो। साथै, साइबर अपराधका उजुरी र मुद्दा दर्ताको प्रक्रिया पनि उहाँले स्पष्ट पार्नुभयो।

    कार्यक्रमको दोस्रो सत्रमा एस.ओ.एस. युवालय नेपालगन्जका सहायक निर्देशक लक्ष्मण कार्कीले बालबालिका तथा युवाहरूको अधिकार र बाल दुर्व्यवहारसम्बन्धी कानूनी प्रक्रियाका विषयमा प्रस्तुतीकरण गर्नुभयो।

    त्यसैगरी, एस.ओ.एस. अल्टरनेटिभ युथ क्लबकी पूर्व सचिव सम्झना खडकाले बालबालिका तथा युवाहरूका हक, अधिकारसहित कर्तव्यका पक्षमा जानकारीमूलक प्रस्तुति दिनुभएको थियो।

    उक्त अभिमुखीकरण कार्यक्रमले सहभागीहरूलाई विद्युतीय युगमा सुरक्षित रहन तथा आफ्ना अधिकार र कर्तव्यप्रति सजग बन्न प्रेरित गरेको आयोजक संस्थाले जनाएको छ।

     

  • १४ जेष्ठ २०८२, मंगलवार १०:५३ प्रकाशित

  • Nabintech