१४, जेष्ठ २०८२
बाँके । बाँकेको नरैनापुर गाउँपालिकालाई मंगलबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। पालिकाभित्र रहेका सबै ६ वटै वडा पूर्ण खोप सुनिश्चित भएसँगै सम्पूर्ण पालिकालाई दिगोपना घोषणा गरिएको हो।
गाउँपालिकाभित्र १६ महिनादेखि २३ महिना उमेर समूहका १,०५२ जना बालबालिका छन्। पहिले छुटेका १५५ बालबालिकासमेतलाई सबै खोप प्रदान गरिएपछि यो उपलब्धि सम्भव भएको हो। सम्पूर्ण बालबालिकाले आवश्यक सम्पूर्ण खोप प्राप्त गरिसकेपछि नरैनापुर गाउँपालिका वडा नं ६ का अध्यक्ष तथा पालिकाका कार्यवाहक अध्यक्ष प्रेम मौर्यले एक औपचारिक कार्यक्रममार्फत घोषणाको घोषणा गर्नुभयो।
घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख तथा खोप समन्वय समितिका संयोजक ज्ञानेन्द्र चौधरीले पालिकाले उत्साहपूर्वक काम गरी लक्ष्य हासिल गर्न सकेको बताउँदै यो अभियानलाई दीर्घकालीन रूपमा निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
उक्त अवसरमा चौधरीले पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र वडा नं ६ का अध्यक्ष मौर्यलाई हस्तान्तरण गर्नुभयो। कार्यक्रममा कार्यवाहक अध्यक्ष मौर्यले खोप अभियानमा सक्रिय सहयोग गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारी र सरोकारवालालाई धन्यवाद दिँदै बालबालिकालाई खोपबाट वञ्चित नगरिनु पर्नेमा जोड दिनुभयो।
घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समिति संयोजकसमेत रहेका प्रमुख ज्ञानेन्द्र चौधरी, स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहलगायत सरोकारवाला निकायको उपस्थिति रहेको थियो।