१६, जेष्ठ २०८२
हुम्ला। ताँजाकोट गाउँपालिका भरमा औलो, डेङ्गु र कालाज्वारजस्ता किटजन्य रोग नियन्त्रणका लागि विषादी छर्कने कार्य सुरु गरिएको छ। साउन र भदौ महिनामा यस्ता रोगका बिरामी देखिने सम्भावना बढी हुने भएकाले पूर्वसावधानी स्वरूप स्वास्थ्यकर्मी परिचालन गरी विषादी छर्कने अभियान चलाइएको हो।
गाउँपालिकाका पाँचवटै वडामा विश्व स्वास्थ्य संगठन (WHO) ले सिफारिस गरेको लेम्डासाई हेडियोलिङ्क १० प्रतिशत विषादी प्रयोग गरी घरको भित्तामा र गल्लीहरूमा छर्किने काम भएको स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार एकपटक छरेपछि यो विषादीले छ महिनासम्म रोग नियन्त्रण गर्न सक्ने भएकाले कात्तिक महिनासम्मको लागि सुरक्षात्मक उपायका रूपमा लिइएको छ।
गतवर्ष साउन–भदौको समयमा ताँजाकोटमा औलो र कालाज्वारका बिरामीहरू भेटिएका थिए। परीक्षणका क्रममा वडा नम्बर २ का एक बिरामी बाहिरबाट सरेर आएका थिए भने वडा नम्बर ५ मा लामखुट्टे टोकाइबाटै औलो देखिएको थियो। त्यस्तै, वडा नम्बर २ मै एक जना कालाज्वारका बिरामी भेटिएका थिए।
यस वर्ष संक्रमण स्थानीय तहमै देखिन नदिन, विषादी छर्ने कार्यसँगै स्थानीयवासीहरूको परीक्षणसमेत गरिने तयारी रहेको स्वास्थ्य शाखाले जनाएको छ। कर्णाली प्रदेशका अन्य जिल्लाहरूमा आयातित रोग देखिए पनि स्थानीय स्तरमै संक्रमण देखिएको ताँजाकोट एकमात्र गाउँपालिका भएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
स्वास्थ्य शाखाका अनुसार यस अभियानले ताँजाकोटलाई किटजन्य रोगमुक्त गाउँपालिका बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।