१८, जेष्ठ २०८२
बाँके। प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा ‘सुरक्षा परियोजना’ अन्तर्गत बाँके युनेस्को क्लबको आयोजना र मधुवन नगरपालिका तथा राजापुर नगरपालिकाको सहकार्यमा प्रारम्भिक बालविकास (ईसीडी) र कक्षा १ का शिक्षकहरूका लागि चारदिने तालीम सम्पन्न भएको छ।
२०८२ साल जेठ १५ देखि १८ गतेसम्म सञ्चालित सो तालिम मधुवन नगरपालिकामा आयोजित थियो। कम लागत वा शून्य लागतमा शिक्षण–सिकाइ सामग्री निर्माण गर्ने तरिका र समावेशी कक्षा व्यवस्थापन प्रविधिको विकासमार्फत शिक्षण अभ्यासमा सुधार ल्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।
कार्यक्रम बाँके युनेस्को क्लबका अध्यक्ष रबि कुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि मधुवन नगरपालिकाका नगर उपप्रमुख अनिता चौधरी रहनु भएको थियो भने विशिष्ट अतिथिमा बाँके युनेस्को क्लबका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, बरिष्ठ उपाध्यक्ष पंचम गुरुङ र शिक्षा शाखा प्रमुख नारायणप्रसाद खनाल सहभागी हुनु भएको थियो।
तालिममा सहभागी शिक्षकहरूले स्थानीय स्रोतहरूको प्रयोग गरेर सरल, प्रभावकारी र पहुँचयोग्य शिक्षण सामग्री निर्माणका व्यावहारिक सीपहरू सिकेका थिए। साथै, विविध सिकाइ आवश्यकताहरू भएका बालबालिकालाई लक्षित गर्दै समावेशी कक्षा वातावरण निर्माण गर्नुपर्ने कुरामा पनि तालिम केन्द्रित थियो।
समापन सत्रमा बोल्दै शिक्षा शाखा प्रमुख नारायणप्रसाद खनालले शैक्षिक सामग्रीको प्रयोगले बालबालिकाको सिकाइ कक्षा कोठासँग जोडिन सहयोग पुग्ने भएकाले यस्ता तालिमहरू शिक्षकको क्षमताविकासमा महत्वपूर्ण हुने बताए।
नगर उपप्रमुख अनिता चौधरीले स्थानीय सरकार र संघसंस्थाबीचको सहकार्यले शिक्षामा विशेष योगदान दिने बताइन्।
युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले क्लबका गतिविधि र उद्देश्यबारे सहभागीहरूलाई जानकारी गराए।
सहभागी शिक्षक प्रभा भुसालले तालिम निकै उपयोगी भएको बताउँदै सिकेका कुराहरू कक्षा कोठामा लागू गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
बाँके युनेस्को क्लबका अध्यक्ष रबि कुमार तुलाधरले तालिमले शिक्षक र विद्यार्थी दुवैका लागि सिकाइलाई सहज, रोचक र समावेशी बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरे।
तालिम परियोजना संयोजक ईश्वर विकको सञ्चालनमा सम्पन्न भएको थियो भने फिल्ड सुपरभाइजर सावित्रा भाट र प्रशिक्षक झलकुमारी कार्कीले सहजीकरण गरेकी थिइन्।
तालिम अन्तरक्रियात्मक सत्र, समूहगत कार्य र व्यवहारिक अभ्यासहरू सहित संचालन गरिएको थियो।
सहभागी शिक्षकहरूले नयाँ सीप र प्रविधिहरू प्रत्यक्ष कक्षा कोठामा प्रयोग गर्न पाउँदा उत्साह व्यक्त गरेका छन्। तालिमले समावेशी, पहुँचयोग्य र आकर्षक शिक्षण प्रविधिको प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।