अनलाइनबाट नागरिकताको सिफारिस दिँदै सिमकोट

  • नमस्ते कर्णाली

  • जेष्ठ २०, २०८२
    हुम्ला। जिल्ला सदरमुकामस्थित सिमकोट गाउँपालिकाले सोमबारदेखि अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस दिन सुरु गरेको छ । नागरिकता प्रमाणपत्रसम्बन्धी प्रक्रियालाई थप व्यवस्थित र प्रविधिमा आधारित बनाउने उद्देश्यका साथ सिमकोट गाउँपालिकाले वडा–४ बुराउँसेबाट यो सेवा दिन थालेको हो ।

    सोमबार पहिलो दिन एक महिला र दुई पुरुषलाई अनलाइनमार्फत सिफारिस प्रदान गरिएको गाउँपालिकाका सूचना अधिकारी छिरिङ युङ्डुङ लामाले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सिसिआइएमएस) अनुसार सिफारिस दिन थालेको हो । यो प्रणाली सुरु भएपछि सिमकोटले सेवाग्राहीबाट आवश्यक कागजपत्र लिएर अनलाइनमार्फत सिफारिस गर्ने उहाँले जानकारी दिनुभयो ।

    अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छिटोछरितो र प्रविधिमैत्री सेवा प्रवाह हुने, झुटो र कीर्ते विवरण भरेर नागरिकता लिने कार्य अन्त्य हुने गाउँपालिका सूचना अधिकारी लामाले बताउनुभयो ।
    विद्युतीय व्यवस्थाले सबै प्रणालीलाई एकीकृत गर्न र दस्तावेज कायम गर्न सहज हुनेछ । वडा–४ बुराउँसेबाट सुरु भएको यो सेवा अब प्रत्येक वडामा लागू हुने जनाइएको छ ।

  • २१ जेष्ठ २०८२, मंगलवार ०६:५६ प्रकाशित

  • Nabintech