“२०४८ देखि २०५१ आर्थिक ‘गोल्डेन एज’ थियो” — महामन्त्री गगन थापा

  • नमस्ते कर्णाली

  • २१, जेष्ठ २०८२
    बाँके । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले वि.सं. २०४८ देखि २०५१ सम्मको समयलाई नेपालको आर्थिक इतिहासमा ‘गोल्डेन एज’ अर्थात् सुनौलो युगको रूपमा स्मरण गर्नु भएको छ।

    प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले नेपालगन्जमा आज आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले उक्त अवधिमा गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा भएको आर्थिक उदारीकरणलाई नेपालले चालेको महत्वपूर्ण कदमका रूपमा चित्रित गर्दै त्यसले मुलुकको आर्थिक आधारमा परिवर्तन ल्याएको उल्लेख गर्नुभयो।

    “२०५१ सालपछि त्यो प्रक्रिया रोकियो, तर अब फेरि समय आएको छ – आर्थिक नीतिलाई थप उदार बनाउने,” महामन्त्री थापाले स्पष्ट पार्नुभयो। उहाँले मुलुकको आर्थिक समृद्धिका लागि उत्पादन र रोजगारी सृजनामा निजी क्षेत्रको निर्णायक भूमिका रहने भएकाले त्यसअनुसार नीति निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य र मैकुलाल वाल्मीकि, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, बाँके जिल्ला सभापति नारायण प्रसाद गौडेल लगायतका नेताहरूको उपस्थिति थियो।

    संघका अध्यक्ष संजय थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योगी व्यवसायीहरू कन्हैयालाल वैद्य, ध्रुब प्रसाद दाहाल, टंक प्रसाद शर्मा, लक्ष्मण राज पौडेल, मन प्रसाद आचार्य, सूर्य गौडेल, अशोक गौडेल, राजु रिजाल, गोपाल प्रसाद गिरी लगायतले आर्थिक नीति, कर प्रणाली, उत्पादनमूलक लगानी र रोजगारीका विषयमा महामन्त्री थापासमक्ष जिज्ञासा राखेका थिए।

    कार्यक्रममा अर्थशास्त्री डा. राजेश केशर खनाल र डा. अवनिन्द्र मिश्रले पनि आ-आफ्नो धारणा प्रस्तुत गर्दै वर्तमान आर्थिक परिस्थितिमा सुधार ल्याउन स्पष्ट दिशा र दीर्घकालीन नीतिको आवश्यकता औँल्याएका थिए।

     

  • २२ जेष्ठ २०८२, बुधबार ०६:२३ प्रकाशित

  • Nabintech