२५, जेष्ठ २०८२
बाँके । कोहलपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा, नेपाल अंग्रेजी भाषा शिक्षक संघ (NELTA) बाँकेको समन्वय तथा सहजीकरण र कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा तीन दिवसीय गेमिफिकेशन Gamification and ICT in ELT’ विषयक कार्यशाला सम्पन्न भएको छ।
सामुदायिक विद्यालयमा कार्यरत आधारभूत तहका अंग्रेजी शिक्षकहरूको पेशागत विकास तथा शिक्षण क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यशाला जेठ २२ गते त्रिभुवन नमुना माध्यमिक विद्यालय, कोहलपुर-१०, बाँकेमा उद्घाटन भई जेठ २४ गते समापन भएको हो।
कार्यशालामा कोहलपुर नगरभित्रका २५ जना अंग्रेजी भाषा शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। उक्त कार्यशाला दैनिक चार वटा सत्रहरूमा विभाजित थियो, जसमा अंग्रेजी शिक्षणमा प्रविधिको प्रयोग र रमाइलो शिक्षण विधिहरू गेमिफिकेशन(gamification) सम्बन्धी अभ्यासात्मक तथा व्यवहारिक प्रशिक्षण दिइएको थियो।
कार्यशालामा शिक्षा शाखाका उप-सचिव रामबहादुर हमाल, नेल्टा बाँकेका पदाधिकारीहरू, र जिल्लाका ख्यातिप्राप्त अंग्रेजी भाषाका विज्ञहरू प्रमोद सुवेदी, दिलीप वली, देवी गुरुङ, शिव काफ्ले, सञ्जीव कुमार सिंघल, विन्दु सुवेदी, केशवराज सिग्देल, गणेश प्रसाद पौडेल र भीम प्रसाद खरेलले प्रशिक्षण तथा सहजीकरणको भूमिका निर्वाह गरेका थिए।
कार्यशालाको समापन समारोह कोहलपुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक ईश्वरीप्रसाद विकको सभापतित्वमा सम्पन्न भयो। कार्यक्रममा बोल्दै संयोजक विकले शिक्षकहरु नै विद्यालयको मेरुदण्ड हुन् र यस्ता अभ्यासमूलक कार्यशालाले शिक्षकको क्षमता अभिवृद्धि गर्दै शिक्षणमा गुणात्मक सुधार ल्याउने बताए। उनले भने कोहलपुर नगरपालिकाले भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई प्राथमिकता दिनेछ र नेल्टासँग सहकार्य गर्दै अगाडि बढ्नेछ।”
नेल्टा बाँकेका अध्यक्ष प्रमोद सुवेदीले कोहलपुर नगरपालिकाले आफूहरूलाई विश्वास गरी कार्यशाला सहजीकरणको जिम्मेवारी दिएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि शिक्षकहरूको निरन्तर विकासका लागि सहकार्य गर्दै जाने प्रतिबद्धता जनाए।
कार्यशालामा सहभागी शिक्षकहरूले सिकाइलाई अत्यन्तै उपयोगी, व्यवहारिक र प्रेरणादायी बताउँदै कक्षा कोठामा यसको प्रयोगले विद्यार्थीहरूको सिकाइमा ठूलो प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए।
शिक्षा शाखाका प्रमुख रामबहादुर हमालले कार्यशालामा सहजीकरण गर्ने प्रशिक्षकहरूलाई धन्यवाद दिँदै, सिकेका सीप तथा विधिहरूलाई कक्षा कोठामा व्यवहारमा उतार्न आग्रह गरे।
कार्यशालाले अंग्रेजी भाषा शिक्षणलाई नवीन प्रविधि र विद्यार्थी-मैत्री पद्धतिबाट अझ प्रभावकारी बनाउने विश्वास सहभागी शिक्षकहरूले व्यक्त गरेका छन्। स्थानीय सरकार, शिक्षक संघसंस्था र विषय विज्ञबीचको यस्तो सहकार्यले आगामी दिनमा शिक्षाको गुणस्तर अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने देखिन्छ।