जडिबुटी खेतीको सुगन्ध हरायो: बर्दियाका करोडौंको प्रशोधन केन्द्र खण्डहरमा परिणत

  • नमस्ते कर्णाली

  • २५, जेष्ठ २०८२
    बर्दिया ।बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र खाता जैविक मार्गमा कुनै समय हरियालीको नयाँ अध्याय लेख्ने उद्देश्यले लाखौँ रुपैयाँ लगानीमा स्थापना गरिएका जडिबुटी प्रशोधन केन्द्रहरू आज खण्डहरमा परिणत भएका छन्। संरक्षण र समुदायको जीवनस्तर उकास्ने सपना बोकेर सुरु गरिएको जडिबुटी खेती र प्रशोधन अभियान अहिले विफलताको उदाहरण बनेको छ।

    नेपालको जैविक विविधताले भरिएको यो क्षेत्र केही वर्षअघिसम्म मेन्था, क्यामोमाइल, लेमनग्रास, सिट्रोनेला जस्ता उच्चमूल्यका जडिबुटीहरूको सुगन्धले गुञ्जायमान थियो। विशेषगरी मेन्था र क्यामोमाइल खेती बर्दियाका किसानहरूको वैकल्पिक आयश्रोतका रूपमा स्थापित हुँदै थियो। तर, आज त्यो खेती लोप हुने अवस्थामा पुगेको छ।

    स्थानीय कृषक परशुराम चौधरीका अनुसार, सुरुमा राम्रो आम्दानी हुने भएपछि विदेशिएका युवासमेत गाउँ फर्केर खेतीमा लागेका थिए। तर, बजारमा माग घट्दै गएपछि उत्पादन बिक्री हुन छाड्यो। चौधरी भन्छन्, “बजार व्यवस्थापन गर्न नसकेपछि हिजोका कृषक आज फेरि विदेश पलायन भइरहेका छन्।”

    शिव बहुउद्देश्यीय सहकारीका अध्यक्ष सिताराम चौधरीले पनि यही पीडा दोहोऱ्याउँदै भने, “पहिले २५ सय रुपैयाँ प्रतिकेजीमा बिक्री हुने तेल अहिले १५ सय रुपैयाँमा पनि बेच्न गाह्रो भइरहेको छ। मूल्य घटेपछि किसानको उत्साह घट्नु स्वाभाविक हो।”

    करीब १५ वर्षअघि राष्ट्रिय प्रकृति संरक्षण कोष, तराई भू–परिधि कार्यक्रम, डब्लु डब्लु एफ, बर्दिया एकीकृत संरक्षण कार्यक्रम लगायतका संस्थाले ठूलो लगानी गरेर प्रशोधन केन्द्र स्थापना गरेका थिए। ती संस्थाहरूले मल, बिउ वितरणदेखि तालिमसम्मका कार्यक्रम सञ्चालन गरेका थिए। करोडौँ खर्चेर आधुनिक प्रशोधन उपकरण जडान गरिएको थियो। बजार व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय कम्पनीहरूसँगसमेत सम्पर्क समन्वय गरिएको थियो।

    तर आज ती प्रशोधन केन्द्रहरू प्रयोगविहीन भएर जीर्ण अवस्थामा पुगेका छन्। साना केन्द्रहरू पूर्ण रूपमा नष्ट भएका छन् भने ठूला तीनवटा केन्द्र मर्मत सम्भारको अभावमा थन्किएका छन्।

    बर्दिया राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख तथा संरक्षण अभियन्ता रमेश थापा भन्छन्, “सुरुमा संघसंस्था, परियोजना र बजार मूल्यले यो अभियानलाई बल दिएको थियो। तर परियोजनाहरू बन्द भएसँगै बजार व्यवस्थापन कमजोर भयो र खेतीप्रति किसानको भरोसा पनि हरायो।”

    निकुञ्जको मध्यवर्ती क्षेत्र र जैविक मार्गमा कृषकहरूले लगाएको धान, गहुँ, मकै, तोरी, मसुरो आदि बालीहरू जङ्गली जनावरले बारम्बार क्षति पुर्‍याउँदै आएका थिए। त्यसकै विकल्पस्वरूप जडिबुटी खेतीको अवधारणा अघि सारिएको थियो। यो अवधारणाले केही वर्ष सफलतासमेत पाएको थियो।

    तर दीर्घकालीन रणनीति नहुनु, सरकारी तहबाट निरन्तरता नपाउनु र बजार व्यवस्थापनमा कमजोरी हुनु अहिलेको प्रमुख समस्या बनेको छ।

    हालसालै गरिएको एक अवलोकन अनुसार, खाता जैविक मार्ग र निकुञ्ज वरपरका अधिकांश प्रशोधन केन्द्रहरू जङ्गलमा लुकेका खण्डहर जस्ता देखिन्छन्। यिनले न त कृषकलाई आम्दानी दिन सकेका छन्, न त संरक्षणलाई प्रोत्साहन।

    अब यी संरचनाहरूको पुनःसक्रियता, किसानलाई प्रोत्साहन र बजार सुनिश्चितताको अभावमा बर्दियाको जडिबुटी खेती पूर्ण रूपमा हराउने सम्भावना देखिन थालेको छ।

    विशेषज्ञहरू भन्छन्—यदि तत्काल उचित नीति, कार्यक्रम र लगानी नआए, बर्दियाको हराएको सुगन्ध सायद कहिल्यै नफर्किन सक्छ।

  • २६ जेष्ठ २०८२, आईतवार ०६:३७ प्रकाशित

  • Nabintech