जयेन्दु बाल सुधार गृहमा छालारोगको संक्रमण, १२० बालकको निःशुल्क उपचार

  • नमस्ते कर्णाली

  • २७, जेष्ठ २०८२
    बाँके ।बाँकेको डुडुवा गाउँपालिका–६ स्थित आसमानपुरमा रहेको जयेन्दु बाल सुधार गृहमा रहेका बालकहरूमा छालासम्बन्धी रोगको व्यापक संक्रमण देखिएको छ। एडभोकेसी फोरम नेपालको आयोजनामा सम्पन्न एकदिने निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार शिविरमा अधिकांश बालकहरू छालारोगबाट पीडित भेटिएका हुन्।

    शिविरमा २१७ जना बालकमध्ये १२० जनाको स्वास्थ्य परीक्षणसहित औषधि उपचार गरिएको छ भने बाँकी बालकहरूलाई स्वास्थ्य परामर्श प्रदान गरिएको छ। तीमध्ये तीन जनाको अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि भेरी अस्पताल रिफर गरिएको छ।

    भेरी अस्पतालकी छालारोग विशेषज्ञ डा. अस्मिता गौतमका अनुसार बालकहरूमा लुतो, फङ्गल इन्फेक्सन, डण्डिफोर, घमौरा, स्कोरटल एक्जिमा, पिलो र दुबी जस्ता समस्या देखिएका छन्। यस प्रकारका छालारोगहरू भिडभाड, सरसफाइको कमी र लामो समयसम्म उपचार नपाउँदा सर्न सक्ने भएकाले सावधानी आवश्यक रहेको उहाँले बताउनुभयो।

    भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले बीमामार्फत बालकहरूको निःशुल्क उपचार गरिने र आगामी दिनमा पनि अस्पतालबाट उपचारमा आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभयो।

    जयेन्दु बाल सुधार गृहकी इन्चार्ज विमला काउचा मगरले बालकहरूमा छालासम्बन्धी रोगको संक्रमण रोक्न नियमित उपचार र स्वच्छता आवश्यक रहेको बताउनुभयो।

    शिविरमा डा. अस्मिता गौतमसँगै भेरी अस्पतालका डा. जनक देवकोटा, नर्सिङ्ग निरीक्षक बसुन्धरा ज्ञवाली लगायतको स्वास्थ्य टोली सहभागी थियो।

    शिविरको व्यवस्थापन तथा समन्वयमा संलग्न अधिवक्ता वसन्त गौतमले सुधार गृहमा रहेका बालकहरूको स्वास्थ्य अवस्थाप्रति राज्यको ध्यान जानु आवश्यक रहेको बताउनुभयो। बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित गर्न यस्ता शिविर नियमित रूपमा आवश्यक रहेको उहाँको भनाइ छ।

     

  • २८ जेष्ठ २०८२, मंगलवार ०७:२८ प्रकाशित

  • Nabintech