सल्यानका प्रमुख धार्मिक स्थलमा पदमार्ग निर्माण, पर्यटन प्रवर्द्धनमा टेवा

  • नमस्ते कर्णाली

  • २८, जेष्ठ २०८२
    सल्यान । धार्मिक तथा पर्यटकीय सम्पदाले भरिपूर्ण सल्यान जिल्ला भित्रका प्रमुख स्थलहरू कुपिण्डे ताल, कछुवा दह, जथाक लेक, कुमाख लेख, छत्रेश्वरी शक्तिपीठ, खैरावाङ भगवती मन्दिर लगायतका स्थलहरू रहेका छन्। यी स्थलहरूको प्रवर्द्धन र पहुँचमा सहजता ल्याउन कुमाख लेख र छत्रेश्वरी शक्तिपीठमा पदमार्ग निर्माण गरिएको छ।
    पहिले चट्टानी र भीरालो भूगोलका कारण कुमाख लेख पुग्न भक्तजन तथा पर्यटकहरूलाई जोखिम मोलेर यात्रा गर्नु पर्ने बाध्यता थियो। अब भने नवनिर्मित पदमार्गले यात्रा सहज र सुरक्षित बनाएको छ।

    डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेकबहादुर रावलका अनुसार कर्णाली प्रदेश सरकारअन्तर्गतको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट १५ लाख रुपैयाँ र स्थानीय श्रमदानसहित करिब १८ लाख रुपैयाँको लागतमा कुमाख लेखमा ३२९ मिटर लामो पदमार्ग तथा मन्दिरमा २ वटा ढोका निर्माण गरिएको हो।
    कुमाख गाउँपालिका र सिद्धकुमाख गाउँपालिकाको सिमानामा पर्ने २,५३७ मिटर उचाइमा अवस्थित यस पदमार्ग चट्टान फोरेर निर्माण गरिएको हो। यसले आन्तरिक तथा बाह्य पर्यटकको लागि यात्रा अझ सहज र रमणीय बनाएको पदमार्ग निर्माण समितिका सचिव मोहन डीसीले जानकारी दिनुभयो।
    यसैगरी, स्वस्थानी व्रत कथामा उल्लेख गरिनुका साथै बलि चढाइने एक मात्र मन्दिरको रूपमा परिचित छत्रेश्वरी शक्तिपीठमा समेत पदमार्ग निर्माण गरिएको छ।
    छत्रेश्वरी गाउँपालिका–६, शंखमुलदेखि शक्ति पीठसम्मको पदमार्ग पर्यटन विभागको समन्वयमा निर्माण गरिएको हो। गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीका अनुसार पदमार्ग निर्माणपछि धार्मिक र पर्यटकीय दृष्टिकोणले यो गन्तव्य अझ आकर्षक र सुलभ बनेको छ।
    सत्ययुगसँग जोडिएको ऐतिहासिक मान्यताअनुसार, सतीदेवीको मृत शरीर बोकी भगवान् शिव विश्व भ्रमण गर्ने क्रममा सतीको शरीरको शेष अङ्ग यही स्थानमा खसेको किम्वदन्ती रहेको छ। त्यसैले यो स्थान शक्ति पीठको रूपमा पूजनीय रहँदै आएको छ।
    हरेक वर्ष महाशिवरात्रि लगायतका चाडपर्वमा हजारौँ श्रद्धालु दर्शनका लागि यहाँ आउने गर्छन्। पदमार्ग निर्माणसँगै यहाँको पर्यटन तथा धार्मिक महत्व झन् बढ्ने विश्वास गरिएको छ।

     

     

  • २९ जेष्ठ २०८२, बुधबार ०६:१२ प्रकाशित

  • Nabintech