नेपालगन्ज मेयर कप भलिबल प्रतियोगिता सम्पन्न: आदर्श र धम्बोजी माविको दबदबा, श्यामलाल र ग्रेष्ना उत्कृष्ट खेलाडी

  • नमस्ते कर्णाली

  • ३१, जेष्ठ २०८२
    बाँके ।नेपालगन्जमा आयोजित प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा महिलातर्फ आदर्श मावि र पुरुषतर्फ धम्बोजी मावि च्याम्पियन बन्न सफल भएका छन्।

    शुक्रवार नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा सम्पन्न महिलातर्फको फाइनल खेलमा आदर्श माविले युनाइटेड एजुकेशनल एकेडेमीलाई २५-१६, २५-१३ को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो। त्यस्तै पुरुषतर्फ धम्बोजी माविले जय जनता मावि थपुवालाई २५-१६, २५-१६ ले पराजित गर्दै उपाधि हात पारेको हो।

    प्रतियोगितामा विजेता टिमले नगद २० हजार, दोस्रो हुने टिमले १५ हजार र तेस्रो हुने टिमले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

    व्यक्तिगत उत्कृष्टता प्रदर्शन गर्दै धम्बोजी माविका श्यामलाल बिश्वकर्मा पुरुषतर्फ र आदर्श माविकी ग्रेष्ना चिलवाल महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भएका छन्।

    यसअघि शुक्रबार बिहान तेस्रो स्थानका लागि भएको खेलमा महिलातर्फ जय बागेश्वरी माविले सगरमाथा माविलाई २५-१९, २५-१६ ले पराजित गर्दै तेस्रो स्थान हासिल गर्‍यो। त्यस्तै पुरुषतर्फ मंगल प्रसाद माविले युनाइटेड माविलाई २५-१८, २४-२६, २५-२२ ले हराउँदै तेस्रो स्थानमा रहन सफल भयो।

    समापन समारोहमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट, लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा ओलम्पियन सुरेन्द्र हमाल, ओलम्पियन पार्वती थापा, समाजका कार्यबाहक अध्यक्ष निजामुद्दिन सिद्दिकी लगायतले विजेता टिम तथा खेलाडीलाई पुरस्कार वितरण गरेका थिए।

    पूर्व खेलाडी समाज बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो।

    समारोहमा पाँच दशकदेखि नेपाली खेलकुदमा योगदान पुर्‍याउँदै आएका नेपालगन्ज–१८ निवासी अशोकजंग थापालाई दोसल्ला, ढाका टोपी र कदरपत्रसहित सम्मान गरिएको थियो।

    समाजका सचिव नरेन्द्र थापाका अनुसार प्रतियोगितामा नेपालगन्ज उपमहानगर क्षेत्रका १३ विद्यालयका २० टिम (महिला र पुरुष दुवैतर्फ १०–१० टिम) को सहभागिता रहेको थियो।

    यस प्रतियोगिताले स्थानीय तहबाट विद्यालयस्तरमा खेलकुद प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास छ।

  • ३२ जेष्ठ २०८२, शनिबार ०९:५७ प्रकाशित

  • Nabintech