३१, जेष्ठ २०८२
बाँके ।बाढीजस्ता प्राकृतिक विपद्बाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न र समयमै प्रभावकारी प्रतिक्रिया दिन सक्ने क्षमताको मूल्यांकन गर्ने उद्देश्यले बाँके जिल्लामा बाढी विपद्को कृत्रिम घटना अभ्यास सम्पन्न गरिएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा शुक्रबार राप्ती नदी किनार सिधनियामा आयोजित अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, रेडक्रस तथा मेडिकल टोलीको सक्रिय सहभागिता देखिएको थियो।
अभ्यासमा बाढीको समयमा माछा मार्न गएका, रमाइलो गर्दै टिकटक बनाउँदै गरेका व्यक्ति र नदी किनारका बस्ती बगाउँदा घाइते भएका व्यक्तिहरूको विविध परिदृश्य प्रस्तुत गरियो। टाउकोमा चोट, हात भाँचिएको, बेहोस अवस्था, पानी खाएर अचेत भएका लगायतका ‘घाइते’लाई वर्गीकरण (ट्रियाज) गर्दै प्राथमिक उपचारपछि अस्पताल पठाइएको थियो।
नेपाल प्रहरीले स्टेचर तथा संचार सेवा, नेपाली सेनाले खोज तथा उद्धार, सशस्त्र प्रहरीले उद्धार कार्यमा, रेडक्रस र सेनाको मेडिकल टिमले उपचार सेवामा समन्वयात्मक ढंगले भूमिका निर्वाह गरेका थिए।
उक्त अभ्यास कार्यक्रम जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा लुम्बिनी प्रदेश सांसद मिनाकुमारी श्रेष्ठ, नेपाल रेडक्रस बाँकेका सभापति गोवर्धन सिंह सम्झना, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि तथा स्थानीयबासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम सञ्चालनमा सुपर परियोजनाले लोजिस्टिकल सहयोग प्रदान गरेको थियो। यो अभ्यासले विपद् व्यवस्थापनमा बहु-पक्षीय समन्वय र तयारीको महत्त्वलाई पुष्टि गरेको आयोजकहरूको भनाइ छ।