३१, जेष्ठ २०८२
बाँके ।नेपालमा युट्युब र फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत सञ्चालित पत्रकारितालाई ‘अनलाइन टिभी’को रूपमा मान्यता दिई पत्रकारिता क्षेत्रभित्र कानुनी र नीतिगत दायरामा ल्याउनुपर्ने माग पुनः बलियो बनेको छ।
अनलाइन टिभी पत्रकार संघ, नेपालको अध्यक्ष जीवन भण्डारीले पछिल्ला घटनाहरूलाई सन्दर्भ बनाएर सम्बद्ध निकायहरूलाई गम्भीरतापूर्वक ध्यानाकर्षण गराएका छन्। उनले पत्रकारिता गरिरहेका युट्युबरहरूलाई ‘साइबर कानुन’ अन्तर्गत फसाउने अवस्था सिर्जना हुँदै गएकाले यथाशीघ्र पत्रकारिता सम्बन्धी कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन्।
“छ वर्षअगाडि मैले देखेको खतरा आज जुनियरहरू हुँदै सिनियर पत्रकारहरूलाई पनि पर्न थालेको छ, जुन दुर्भाग्यपूर्ण छ,” भण्डारीले स्पष्ट पारे। वरिष्ठ पत्रकार दिलभूषण पाठक र नारायण अर्यालमाथि प्रहरीले गरेको व्यवहारको उनले घोर भर्त्सना गर्दै प्रहरी प्रशासनलाई ‘कानुनको व्याख्या शब्दमा होइन, मर्ममा’ गर्न पनि आग्रह गरे।
उनले युट्युब र फेसबुकजस्ता प्लेटफर्महरूमा पत्रकारिताको व्यवहारिकता स्वीकार गर्नुपर्ने आवश्यकता औंल्याउँदै यसलाई संस्थागत बनाउन सबै पक्षसँग सहकार्य गर्न आफू र आफ्नो नेतृत्वको संस्था सधैं तयार रहेको बताएका छन्।
“अब पनि ‘युट्युबेलाई पत्रकार बनाउने हो?’ भन्दै होच्याउने होइन, यथार्थ चिन्न जरुरी छ। पत्रकारिता गरिरहेका सबै प्लेटफर्मलाई विधिको दायरामा ल्याउनु नै समयको माग हो,” अध्यक्ष भण्डारीले भने।
उनले पत्रकारिताका मूल्य, मान्यता र आचारसंहिता पालना हुने गरी नीतिगत र कानुनी तवरबाट अनलाइन पत्रकारहरूलाई सुरक्षित बनाउनु सबैको साझा जिम्मेवारी भएको बताए।