१, असार २०८२
बर्दिया ।बर्दिया अस्पताल व्यवस्थापन समितिका नवनिर्वाचित अध्यक्ष रविन्द्र कुमार यादवले अस्पतालको सेवा गुणस्तरमा व्यापक सुधार ल्याउने उद्देश्यसहित लुम्बिनी प्रदेश सरकारसँग महत्वपूर्ण भेटवार्ता गर्नुभएको छ। जिल्लावासीहरूलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक उपकरणको व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण, जनशक्ति अभाव तथा अस्पताल आधुनिकीकरणका विविध विषयमा उहाँले प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको हो।
अध्यक्ष यादवले प्रदेशका स्वास्थ्य मन्त्रीसहित मन्त्री परिषद्का अन्य सदस्यहरूसँग संवाद गर्दै बर्दिया अस्पताललाई अझ प्रभावकारी बनाउने रणनीतिहरू प्रस्तुत गर्नुभएको थियो। उहाँले अस्पतालमा देखा परेका प्रमुख समस्याहरूलाई प्राथमिकताका रूपमा राख्दै, विशेषगरी दक्ष जनशक्ति अभाव, पुराना वा बिग्रिएका उपकरणहरूको मर्मत तथा प्रतिस्थापन, आकस्मिक सेवा सुदृढीकरण र मातृस्वास्थ्य सेवाको सुधारका क्षेत्रमा तत्काल सुधार आवश्यक रहेको स्पष्ट गर्नुभयो।
अस्पतालको दीर्घकालीन विकास योजना अन्तर्गत अध्यक्ष यादवले स्थानीय, प्रदेश तथा संघीय सरकारसँगको समन्वयमा बर्दिया अस्पताललाई लुम्बिनी प्रदेशकै नमुना अस्पतालको रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँका अनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि अस्पतालका विविध सुधार योजनाहरू कार्यान्वयन गर्न ५ करोड २४ लाख रुपैयाँ बजेट माग गरिएको छ। उक्त बजेट अन्तर्गत आकस्मिक सेवा सुधार, अक्सिजन प्लान्ट मर्मत तथा पुनःसञ्चालन, पोष्ट ओपिडी तथा एचडियु सेवा, USG मेशिन र डेन्टल चियर खरिद, अस्पतालको रंगरोगन, आवास मर्मत, डायालाइसिस वार्डको पूर्वाधार, नयाँ ओपिडी भवन निर्माण र तालिम कक्ष स्थापना जस्ता गतिविधिहरू समावेश छन्।
बर्दिया जिल्लाको एक मात्र प्रमुख सरकारी अस्पतालका रूपमा रहेको गुलरिया स्थित बर्दिया अस्पतालले दैनिक हजारौं बिरामीलाई सेवा दिँदै आइरहेको छ। तर, चिकित्सकको अभाव, उपकरणको कमी र आधारभूत संरचनाको कमजोर अवस्थाका कारण अस्पतालले आफ्नो सम्भावना अनुसारको सेवा दिन नसकेको स्थानीयवासीहरूको धारणा छ।
अध्यक्ष यादवको नेतृत्वमा अगाडि बढाइएको पहलले अस्पताल सुधारको दिशामा नयाँ आशा जगाएको छ। समन्वयात्मक प्रयास र बजेटको सुनिश्चिततासँगै बर्दिया अस्पतालको सेवा प्रणालीमा गुणात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ।