२, असार २०८२
बर्दिया । गुलरिया नगरपालिका–५ बालापुरमा मानव बस्तीमा पसेर आतङ्क मच्चाउँदै आएको अर्को चितुवा नियन्त्रणमा लिइएको छ। डिभिजन वन कार्यालय बर्दियाले लामो समयदेखि चितुवा नियन्त्रणका लागि थापिएको पासोमा गएराति करिब ७ वर्षको पोथी चितुवा फसेको हो।
यसअघि जेठ १४ गते सोही स्थानमा चितुवाको आक्रमणबाट ७ वर्षीया सायरा थारूको ज्यान गएको थियो। त्यसपछि डिभिजन वन कार्यालयले चितुवा नियन्त्रणको अभियान सुरु गरेको थियो। पहिलो चितुवा जेठ २१ गते नियन्त्रणमा लिइएको थियो भने दोस्रो चितुवा हाल मात्र पासोमा परेको हो।
डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामकुमार चौधरीका अनुसार चितुवा सुरक्षित रूपमा नियन्त्रणमा लिइएको हो र यसलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ। जेठ २१ मा नियन्त्रणमा लिइएको चितुवालाई बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको थियो।
चितुवाको आतङ्कबाट पीडित बालापुरबासी अहिले केही हदसम्म सुरक्षित महसुस गरिरहेका छन्। “चितुवा नियन्त्रणमा आएपछि गाउँमा राहत महसुस भएको छ,” बालापुरका मुल बडघर कालीप्रसाद थारूले बताए।
पछिल्लो समय बर्दियामा चितुवाको आक्रमण बढ्दै गएको छ। वैशाख १५ गते सर्यु सामुदायिक वन क्षेत्रमा चितुवाले आक्रमण गर्दा ९ वर्षीया मेलिना खड्काको ज्यान गएको थियो। डिभिजन वन कार्यालयका अनुसार मङ्सिर यता मात्रै चितुवाको आक्रमणबाट चार जनाको मृत्यु भइसकेको छ भने १६ जना घाइते भएका छन्।
चितुवाको निरन्तर आक्रमणले वन क्षेत्र र मानव बस्तीबीचको द्वन्द्व गहिरिँदै गएको संकेत दिँदै वन कार्यालयले दीर्घकालीन समाधानतर्फ ध्यान केन्द्रित गर्नुपर्ने स्थानीयवासीको माग रहेको छ।