बैजनाथ गाउँपालिकाको ‘किसानसँग पालिका प्रमुख कार्यक्रम’ प्रभावकारी

सयौँ किसान लाभान्वित, हाट बजारदेखि अनुदानसम्मका पहल


  • नमस्ते कर्णाली

  • २, असार २०८२
    बाँके ।बाँकेको बैजनाथ गाउँपालिकाले चालू आर्थिक वर्ष २०८१/०८२ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रम र बजेटमा कृषि क्षेत्रलाई प्रमुख प्राथमिकता दिएको छ । कृषि आधुनिकीकरण, प्रविधिकरण र यान्त्रीकरणमार्फत गाउँको समग्र विकास गर्ने लक्ष्यसहित गाउँपालिकाले कुल ३ करोड ५८ लाख १० हजार रुपैयाँ बजेट कृषि क्षेत्रमा विनियोजन गरेको छ ।

    यसअन्तर्गत ‘किसानसँग पालिका प्रमुख कार्यक्रम’ का लागि २ करोड ४५ लाख ३० हजार रुपैयाँ र अन्य कृषि कार्यक्रमका लागि १ करोड १२ लाख ८० हजार रुपैयाँ छुट्याइएको छ । कुल ६४ वटा योजनामध्ये २६ वटा किसानसँग पालिका प्रमुख कार्यक्रमअन्तर्गत परेका छन् भने ३८ वटा अन्य कृषि योजनाहरू रहेका छन् ।

    गाउँपालिकाले चौमासिक अवधिमा कृषि, पशुपालन र स्वरोजगारमुखी कार्यक्रमअन्तर्गत विभिन्न सामग्री तथा उपकरणहरू वितरण गरेको छ । प्रमुख कार्यक्रमअन्तर्गत किसानहरूलाई अटोरिक्सा, स्यालो ट्युबेल, मिनीटिलर, धान रोप्ने मेसिन, गाईपालक किसानलाई प्रोत्साहन, वर्षे घाँसको बीउ वितरण तथा पशुपालनमा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको छ ।

    अपांगता भएका व्यक्तिहरूलाई बाख्रा र अतिविपन्न परिवारलाई लोकल जातका कुखुराका चल्ला वितरण गरिएको छ । पशु शाखा प्रमुख रामकिसुन थारुका अनुसार ३८० जना अतिविपन्न परिवारलाई प्रतिव्यक्ति १० वटाका दरले लोकल चल्ला वितरण गरिएको छ, जसमा १० लाख बजेटमध्ये ९ लाख ५० हजार रुपैयाँ कुखुरा खरिदमा र ५० हजार रुपैयाँ ढुवानीमा खर्च गरिएको हो ।

    गाउँपालिकाले खजुरास्थित कुखुरा विकास फर्ममार्फत लोकल चल्ला खरिद गरी वितरण गरेको हो । पालिका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार, कार्यक्रमको उद्देश्य किसानलाई आत्मनिर्भर र स्वरोजगार बनाउनु हो । वडा नम्बर ३ मा कृषि हाट बजार सुरु भइसकेको र वडा नम्बर १ मा पनि यसै आर्थिक वर्षमा सुरु गर्ने तयारी भइरहेको छ ।

    त्यसैगरी, डिजिटल प्रविधिको प्रयोगमार्फत कृषिलाई थप प्रभावकारी बनाउन ‘जियो कृषि एप’ सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । अध्यक्ष शाहीले भन्नुभयो, “कार्यक्रम अन्तर्गत कृषि तथा पशुपालनका क्षेत्रमा अनुदान, सामग्री र तालिमजस्ता विभिन्न सहयोग उपलब्ध गराइएको छ । यस्ता कार्यक्रमले बैजनाथका किसानलाई आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण टेवा पुर्‍याएको छ ।”

     

  • २ असार २०८२, सोमबार ०६:५६ प्रकाशित

  • Nabintech