६, असार २०८२
बाँके ।नेपालगञ्ज उपमहानगरपालिकाले नगरभित्र बसोबास गर्दै आएका शारीरिक अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री प्रदान गरेको छ। उपमहानगरपालिकाको आर्थिक सहयोग तथा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राविधिक सहयोगमा ११ जना अपांगता भएका व्यक्तिहरुलाई सामग्री हस्तान्तरण गरिएको हो।
उपमहानगरपालिका परिसरमा आयोजित कार्यक्रममा नगरप्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई तथा प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले सामग्री हस्तान्तरण गरेका थिए। प्रदान गरिएका सामग्रीमा कृत्रिम हात–खुट्टा, एंकल क्याप, क्यालिफर लगायतका शारीरिक सहायक उपकरणहरू रहेका छन्।
महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी महिला विकास अधिकृत आशा कुमारी शाहीका अनुसार, यसअघि पनि यही आर्थिक वर्षमा अपांगता भएका ५५ जनालाई सहायक सामग्री वितरण भइसकेको छ। यो कार्य विभिन्न संघ–संस्थासँगको समन्वयमा उपमहानगरकै स्रोतबाट गरिएको हो।
कार्यक्रममा बोल्दै नगरप्रमुख विष्टले अपांगता भएका नागरिकप्रति पालिका गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै, “यी सामग्रीहरूले उनीहरूको दैनिक जीवन सहज बनाउनेछन्,” भन्नुभयो साथै उहाँले लुम्बिनी प्रदेशमै पहिलोपटक ‘ग’ वर्गमा पर्ने अपांगता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य बीमा गराएको जानकारी दिनुभयो।
अपांगता सञ्जालका उपाध्यक्ष भावुकजंग थापाले सहायक सामग्री पाएपछि दैनिक जीवन सहज हुने भन्दै खुसी व्यक्त गर्नुभयो।
यस कार्यक्रमले सामाजिक समावेशीता र मानव अधिकारको अभ्यासमा स्थानीय सरकारको सक्रिय भूमिका पुष्टि गरेको छ।