शिक्षा सुधारमा रुम टु रिड र पिस नेपालको सशक्त साझेदारी पेशागत विकास कार्यक्रमबाट सामुदायिक विद्यालय सुधारतर्फ ठोस पाइला

"शिक्षकको सीप विकास बिना शिक्षा सुधार सम्भव छैन" — जय प्रकाश पाण्डेय


  • नमस्ते कर्णाली

  • १३, असार २०८२

    कपिलवस्तु ।सामुदायिक विद्यालयमा अध्यापन गराइरहेका प्रारम्भिक कक्षाका शिक्षकहरूको क्षमता अभिवृद्धिका सामुदायिक विद्यालयका शिक्षकका लागि पेशागत विकास तालिम : शिक्षा सुधारमा रुम टु रिड र पिस नेपालको सशक्त साझेदारी पेशागत विकास सहयोग कार्यक्रम लागू गरिने भएको छ। शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुको आयोजना र रुम टु रिड तथा पिस नेपालको सहकार्यमा सम्पन्न प्रारम्भिक बैठकमार्फत कार्यक्रमको जानकारी दिइएको हो।

    शिक्षा सुधारको मूल आधार शिक्षकको सशक्तिकरण रहेको उल्लेख गर्दै गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष जय प्रकाश पाण्डेयले भने, “शिक्षकको सीप र दक्षता अभिवृद्धि नगरी शिक्षा सुधार सम्भव छैन। तालिमपछि प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सके मात्र विद्यार्थीको सिकाइमा गुणात्मक परिवर्तन आउँछ।” उनले सामुदायिक विद्यालयमा एकीकृत पाठ्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

    कपिलवस्तु जिल्लाको बुद्धभूमि, कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकामा हाल सञ्चालनमा रहेको साक्षरता शिक्षा तथा वालिका शिक्षा कार्यक्रमसँगै अब जिल्लाका १० वटै पालिकामा प्रारम्भिक कक्षा शिक्षकलाई लक्षित गर्दै कस्टमाइज तालिम सञ्चालन गरिने रुम टु रिडका फिल्ड कार्यक्रम व्यवस्थापक दिनेश पोख्रेलले जानकारी दिए।

    प्रत्येक पालिकाबाट ३/३ जना शिक्षकलाई स्रोत शिक्षकको रूपमा प्रशिक्षक तालिम दिइने र तिनै स्रोत शिक्षकमार्फत पालिका स्तरमै सबै शिक्षकलाई तालिम दिने वातावरण बनाइने योजना रहेको पोख्रेलले बताए।

    कार्यक्रममा रुम टु रिडका साक्षरता कार्यक्रम निर्देशक नेत्र दाहाल र कार्यक्रम व्यवस्थापक स्मिता नेपालले तालिमले एकीकृत पाठ्यक्रमअनुसारको विषयवस्तुमा शिक्षकलाई स्पष्टता दिलाउने र विद्यार्थीको सिकाइ क्षमतामा सुधार ल्याउने बताए।

    पालिकाका शिक्षा शाखा प्रमुखहरूले पनि शिक्षा शाखामा जनशक्तिको कमी र कक्षा अवलोकनको अभावजस्ता समस्यामा यो कार्यक्रमले समाधान ल्याउने विश्वास व्यक्त गरे।

    शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुका प्रमुख लोकराज मरासिनीले भने, “शिक्षकको कार्यदक्षता कक्षाकोठा अवलोकन र सूचकका आधारमा मूल्यांकन गर्दै तालिम र मार्गदर्शनलाई निरन्तरता दिनु आवश्यक छ।”

    बैठकमा सामाजिक विकास डिभिजन कार्यालयका प्रतिनिधि, पालिकाका शिक्षा शाखा प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम रुम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत बाबुराम पोखरेलको सहजीकरण तथा पिस नेपालका कार्यक्रम व्यवस्थापक योगेन्द्र बुढाको सञ्चालनमा सम्पन्न भएको हो।

    यो कार्यक्रम सामुदायिक विद्यालय शिक्षामा गुणस्तर अभिवृद्धि गर्ने दीर्घकालीन प्रयासका रूपमा लिइएको छ, जसले शिक्षक सशक्तिकरणमार्फत शिक्षा सुधारको जग मजबुत बनाउने अपेक्षा गरिएको छ।

     

  • १३ असार २०८२, शुक्रबार २३:१८ प्रकाशित

  • Nabintech