गाउँमै कृषि शिक्षाको सुरुवात : ‘जयकिसान’ कार्यक्रमले ग्रामीण विद्यार्थीमा पलायो आशा

  • नमस्ते कर्णाली

  • १५, असार २०८२
    बाँके ।बाँकेको नरैनापुर गाउँपालिका–६ स्थित जयकिसान माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा प्राविधिक धार अन्तर्गत बाली विज्ञान विषयको पढाइ सुरु भएपछि ग्रामीण क्षेत्रका विद्यार्थी उत्साहित भएका छन्। आर्थिक अवस्था कमजोर भएकाले पढाइ रोक्ने अवस्था आएको बताउने दुर्गेश कुमार मौर्यले गाउँमै प्राविधिक शिक्षा सुरु भएपछि भविष्यप्रति आशा पलाएको बताएका छन्।

    “पालिकाले गाउँमै कृषि शिक्षा सुरु गरेपछि हामी जस्ता गरिब विद्यार्थीलाई ठूलो राहत भएको छ,” मौर्यले भने, “अब पढ्न सहर जानुपर्दैन, खेतीपातीमै आधारित सिकाइलाई घरमै प्रयोग गर्न पाएको छु।” उनी अहिले विद्यालयमा सिकेका कुरा आफ्ना अभिभावकलाई पनि सिकाउँदै आएका छन्।

    पहिले कक्षा १० सम्म मात्रै पढाइ हुने विद्यालयमा अब कक्षा १२ सम्मको पढाइ उपलब्ध गराइएको छ। “जयकिसान नरैनापुर की शान, मेरी जान” भन्ने नारासहित गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहको पहलमा कृषि शिक्षा सुरु गरिएको हो।

    कक्षा १२ मा अध्ययनरत विद्यार्थी अनिस हलवाईले गाउँमै बसेर उच्चस्तरीय शिक्षा प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गरे। “गाउँमै गुणस्तरीय शिक्षा पाइने भएपछि पढाइ निरन्तर गर्न सकिएको छ,” उनले भने।

    शिक्षिका उषा विकका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहकार्यमा सुरु गरिएको बाली विज्ञान विषयप्रति विद्यार्थीको आकर्षण बढ्दो छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले गाउँमा कृषि उत्पादनलाई व्यावसायिक बनाउँदै आत्मनिर्भरता कायम गर्ने लक्ष्यसहित कक्षा सञ्चालन गरिएको जानकारी दिए।

    शिक्षा शाखा प्रमुख कृष्ण थारुका अनुसार प्रारम्भमा ३६ जना विद्यार्थीबाट सुरु भएको कक्षा हाल ६० जनामा पुगेको छ। विद्यार्थीहरू विद्यालयमा सिकेका सीपहरू जस्तै कम्पोस्ट मल, जैविक विषादी बनाउने जस्ता तालिम आफ्ना परिवारलाई पनि दिइरहेका छन्।

    हाल नरैनापुरमा २१ वटा सामुदायिक, २६ मदरसा र ३ संस्थागत विद्यालय सञ्चालनमा छन्। तीमध्ये कक्षा १२ सम्मको प्राविधिक पढाइ हाल एक विद्यालयमा मात्र सञ्चालनमा रहेको छ भने अधिकांश विद्यालयहरू प्रारम्भिक र माध्यमिक तहसम्म सीमित छन्।

    यस कार्यक्रमले गाउँकै युवालाई व्यवहारिक शिक्षाबाट सीपमूलक र आत्मनिर्भर बनाउने आशा पलाएको छ।

     

  • १५ असार २०८२, आईतवार ०७:३० प्रकाशित

  • Nabintech